चौकीदारको टाउको गिँडिएको अवस्थामा शरीरको भाग फेला परेको सागरनाथ वन विकास परियोजनको पलोट क्षेत्र ।
बयलवास, २० पुस – सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामुराज कडरियाले ईश्वरपुरमा वन हेरालु (चौकीदार) हत्या आरोपमा एक जना व्यक्तिलाई हिरासतमा लिइएको पुष्टी गरेका छन् ।
ईश्वरपुर नगरपालिका–२, राईटरखोरमा हिजो सागरनाथ वन विकास परियोजनामा कार्यरत राइटरखोरकै ४७ वर्षीय रामइश्वर महतोको हत्या भएको थियो । टाउको गिँडिएको शव घरदेखि करिव ५०० मिटर पर सागरनाथ वन विकास परियोजनाको पलौट क्षेत्रमा भेटिए पनि टाउको अझै फेला परेको छैन् ।
उक्त घटनाको विषयमा सिडिओ कडरियासँग जिज्ञाशा राख्दा उनले शंकास्पदलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएका हुन् । ति व्यक्तिलाई प्रहरी पक्राउ गर्दा नै उनको साथबाट रगत लतपतिएको कपडा बरामद भएकाले हत्याको घटनामा उनको संलग्नता रहन सक्ने आशंका गरिएको हो । “पक्राउ परेका व्यक्तिको कपडामा रगत लागेको छ भनेर प्रहरीले मलाई रिपोर्ट गरेको छ,” सिडिओ कडरियाले अहिले बिहान उज्यालो अभियानसँगको कुराकानीमा भने, “हिजो पक्राउ गर्दा नशालु पदार्थ खाएर लठ्ठ रहेका ति व्यक्तिलाई प्रहरीले अहिले बिहान सोधपुछ गर्दै छन् ।”
निमित्त जिल्ला प्रहरी प्रमुख एवं डिएसपी सरोज राईको नेतृत्वमा प्रहरी टोली घटनाको अनुसन्धानमा लागिपरेको सिडिओ कडरियाले बताए । उनका अनुसार बिदामा रहेका एसपी योगेन्द्रकुमार खड्का भोली हाजिर हुने छन् ।
इश्वरपुर नगरपालिका २ का वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीले मृतकको टाउको खोजी गर्न अहिले बिहान घटनास्थल नजिकै रहेको पोखरीमा गाउँका माछा मार्न जान्ने मानिसलाई जालसहित पसाउने तयारी हुँदै छ । मृतकको टाउको गिँडिएको शव भने राति नै प्रादेशिक अस्पताल मलंगवामा लगेर राखिएको डिएसपी राईले उज्यालो अभियानसँग बताए ।