सागरनाथ, १९ पुस – सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राईटरखोरमा आज सागरनाथ वन विकास परियोजनामा कार्यरत एक जना चौकीदार (वन हेरालु) को विभत्स ढङ्गले हत्या भएको छ ।
परियोजनामा ज्यालादारीमा कार्यरत राईटरखोरकै ४७ वर्षीय रामइश्वर महतोको हत्या भएको हो । महतोको टाउको नै काटिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । घरदेखि करिव ५०० मिटर पर सागरनाथ वन विकास परियोजनाको जङ्गलमा टाउको नभएको अवस्थामा चौकीदार महतोको शव फेला परेको वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीले उज्यालो अभियानसँग बताए ।
घटनास्थलमै रहको कार्कीले प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिसकेको थाहा पाएको सुनाए । आज बिहान ५ बजेतिर जङ्गलभित्र रुख काटेको आवाज सुनेपछि चौकीदार महतो त्यसतर्फ गएका थिए । महतो आज दिउँसोसम्म पनि घर फर्किएर नआएको र फोनसमेत ‘स्वीच अफ’ रहेको पाइएपछि परिवारका सदस्य र छरछिमेकीले खोजी सुरु गरे ।
खोज्दै जाँदा जङ्गलभित्र टाउको गिँडेको अवस्थामा महतोको शव फेला परेको हो । घटनास्थलमा अहिले साँझ धनुषाको लालगढबाट तालिम प्राप्त कुकुरसमेत झिकाएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनायो । हत्या गरिएका महतोको अहिलेसम्म टाउको फेला परेको छैन् ।
घटनास्थलमा रहेका सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले आवश्यक अनुसन्धान र शव पोष्टमार्टमका लागि अस्पताल लैजान प्रक्रिया भइरहेको उज्यालो अभियानसँग बताएका छन् ।
घटनास्थलमा रहेका सागरनाथ वन विकास परियोजनाका प्रमुख खेमलाल विश्वकर्माले राइटरखोर क्षेत्रमा एक्लै वन रक्षकको काम गर्ने महतोको हत्या असाध्य निर्मम किसिमले भएको उज्यालो अभियानसँग बताए ।
वनका चौकीदार महतोको विभत्स किसिमले हत्या भएपछि स्थानीय वासिन्दा त्रसित बनेका छन् ।