सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)
संग्रामपुर, १८ पुस – जेनजी आन्दोलनको समयमा सुनसरीमा रहेको झुम्का कारागारबाट फरार भएका एक कैन्दीबन्दी आज सर्लाहीस्थित आफ्नै घरबाट पक्राउ परेका छन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि देशभरका विभिन्न कारागारबाट कैदीबन्दी फरार हुँदा झुम्का कारागारबाट फरार हुन सफल सर्लाहीको सीमावर्ती पर्सा गाउँपालिका–५, बस्ने ५० वर्षीय हकिम बैठा आज पक्राउ परेका हुन् । बैठालाई प्रहरी चौकी पर्सा र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
कारागारबाट फरार भएका कैन्दीबन्दी गाउँघरमा आएर बसेको सूचना पाएपछि प्रहरी परिचालन गर्दा बैठालाई घरबाटै पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए । डिएसपी राईका अनुसार अभियुक्त बैठालाई बाँकी सजाय भुक्तानका लागि आज नै कारागार कार्यालय मलङ्गवामा बुझाइसकिएको छ ।
जवरजस्तीकरणी मुद्दामा १२ वर्ष कैद सजाय सुनाइएका बैठाले आठ वर्ष कैद भुक्तानी गरिसकेका पाइएको प्रहरीले जनाएको छ ।
एक साताअघि पुस ११ गते सर्लाही प्रहरीले जेनजी आन्दोलनमा सिन्धुली कारागारबाट भाग्न सफल हरिवन नगरपालिका–३, डाबरीका ३० वर्षीय बिमल भन्ने बिरेन थिङलाई पक्राउ गरेको थियो ।
लागुऔषध मुद्दाका अभियुक्त थिङ पनि अहिले कारागार कार्यालय मलङ्गवामा कैद भुक्तानी गरिरहेका छन् ।