logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

खाँ सांसदको सूचीमा परेपछि : संस्थापन पक्ष भन्छ–योगदान छैन, पुराना कांग्रेसी रहेको इतर समूहको दावी


  • उज्यालो अभियान

मलंगवा, १६ पुस – नेपाली कांग्रेसमा सर्लाहीबाट प्रतिनिधि सभाको समानुपातिक सांसदतर्फ बन्दसूचीमा परेका मो.अन्सार खाँ को विषयलाई लिएर आरोपप्रत्यारोप सुरु भएको छ ।

कांग्रेसले निर्वाचन आयोगमा हिजो बुझाएको समानुपातिक सांसदको सूचीमा सर्लाहीबाट खाँ एक्लैको नाम छ । मलंगवा नगरपालिका–६, खुटौना निवासी खाँ को नाम समानुपातिक सूचीमा परेपछि जिल्लामा कांग्रेसको संस्थापन र इतरपक्षबिच आरोपप्रत्यारोप सुरु भएको हो ।

संस्थापन पक्षका रहेका कार्यवाहक जिल्ला सभापति डा. सरोज कुमारले आज विज्ञप्ती नै जारी गरेर खाँ समानुपातिक सूचीमा परेपछि विरोध जनाएका छन् । खाँ लाई कहीँकतै कुनै समितिबाट सिफारिस नै नगरिएको र पार्टी संगठनमा कहिल्यै नदेखिएको आरोप लगाएका हुन् ।

विगत २०/२५ वर्षदेखि भारतको लुधियानामा व्यापार गरेर बसेको व्यक्ति कसरी, कुन मापदण्ड अन्तर्गत समानुपातिक सांसदको सुचीमा परे ? भनेर विज्ञप्तीमार्फत नै प्रश्न गरिएको छ । कार्यवाहक जिल्ला सभापति डा. सरोजले केन्द्रीय कार्यवाहक सभापतिलाई पत्र लेख्दै जिल्लामा अहोरात्र संगठनमा काम गरेर बसेका नेता, कार्यकर्तालाई प्राथमिकतामा राखी समानुपातिक सांसदको सूचीमा सिफारिस गर्न आग्रह गरेका छन् ।

कांग्रेस सर्लाहीका सचिव निरज कार्कीका अनुसार सर्लाहीमा समानुपातिक सांसदका लागि क्षेत्र नं. १ बाट ३ जना, क्षेत्र नं. २ बाट ५ जना, क्षेत्र नं. ३ बाट ८ जना र क्षेत्र नं. ४ बाट ३ जना गरी जम्मा १९ जनाको नाम पठाउँदा अहिले बन्दसूचीमा परिसकेका खाँ को नाम कतै थिएन । जिल्लाबाट १९ जनाको नाम पठाइएकोमध्ये भने कसैको पनि नाम बन्दसूचीमा परेको छैन् ।

यता कांग्रेस सर्लाहीको संस्थापन इतर पक्षले खाँ को नाम बन्दसूचीमा परेकोमा विरोध गर्नु उनी र उनको परिवारलाई अन्याय हुने बताएको छ । संस्थापन इतर पक्षका नेता एवं क्षेत्र नं. २ का क्षेत्रीय सभापति कौशलकिशोर रायले मो.अन्सार खाँको पूरै परिवार नै पुरानो कांग्रेसी रहेको दावी गरेका हुन् ।

समानुपातिक सांसदको बन्दसूचीमा रहेका खाँ को एक जना भाई नसारुल खाँ मलंगवा नगरपालिका ६ को वडा सभापति तथा वडाध्यक्षको प्रत्यासी, अर्का भाई अनवारुल खाँ टे«ड युनियन कांग्रेस सर्लाहीको वर्तमान सभापति रहेको र बुवा स्व. सराफूल खाँसमेत साबिक खुटौना गाविसको अध्यक्षसमेत भइसकेको व्यक्ति रहेको बताए ।

भारतमा व्यापार गरिरहेको भन्दैमा सारा परिवार नै कांग्रेसमा रहेको परिवारबाट समानुपातिक सांसदको सूचीमा पर्दा यसरी विज्ञप्ती नै निकालेर सच्चा कांग्रेसीजनको योगदान भुलेर चित्त दुखाउने काम गरिएको क्षेत्रीय सभापति रायको भनाइ छ ।