सासापुर, १६ पुस – हरिवन नगरपालिका ४ मा रहेको स्वास्थ्य चौकी सासापुरमा आज मधेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगिलाल रायलाई सम्मान गरिएको छ ।
हरिवन नगरपालिका कार्यालय र स्वास्थ्य चौकी सासापुरले मधेश प्रदेश सरकारका नवनियुक्त मन्त्री रायलाई स्वागत तथा सम्मान गरेको हो । नगरप्रमुख रमेश बुढाथोकी, उपप्रमुख हरिमाया घलान, प्रमुख प्रशासकीय अधिकृत हेमराज फुँयाल, विभिन्न वडाका वडाध्यक्षलगायत भएर उनलाई सम्मान गरेका हुन् ।
सोही अवसरमा सिद्धार्थ बैंकले स्वास्थ्य चौकीलाई औजार उपकरण सहयोग गरेको छ । प्रदेश सरकारका स्वास्थ्य मन्त्री रायले पनि प्रदेशको सरकारको तर्फबाट स्वास्थ्य चौकी सासापुरमा नगर अस्पताल संचालनका लागि आवश्यक औजार, उपकरण सहयोग गर्ने वचन दिएका छन् ।
यस्तै प्रदेश सरकारका मन्त्री रायले आज नै नवलपुरस्थित सर्वदंश उपचार केन्द्रको समेत निरीक्षण गरेका छन् ।
मन्त्री रायलाई उपचार केन्द्रका अध्यक्ष उद्धव पौडेलले उपचार केन्द्रको दुरावस्थाबारे अवगत गराएका छन् ।