logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीबाट मधेश सरकारमा ३ मन्त्री, फकिरा महतो बने गृहमन्त्री


  • उज्यालो अभियान

धनकौल, १६ पुस – सर्लाहीको क्षेत्र नं. ४ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य फकिरा महतो मधेश प्रदेश सरकारको गृह, संचार तथा कानून मन्त्रीमा नियुक्त भएका छन् ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज मन्त्रिपरिषद् विस्तार गर्दा माओवादी केन्द्रबाट निर्वाचित सर्लाहीका प्रदेश सांसद महतोले वर्तमान प्रदेश सरकारमा गृह मन्त्रालयको जिम्मेवारी पाएका हुन् । सर्लाहीबाट यसअघि यही सरकारमा क्षेत्र नं. ३ (क) बाट निर्वाचित माओवादी केन्द्रका प्रदेश सांसद जवाहारलाल कुशवाहा उर्जा, सिंचाई तथा खानेपानी मन्त्री र क्षेत्र नं. २ (क) बाट निर्वाचित नेपाली कांग्रेसका जंगिलाल राय स्वास्थ्य तथा जनसंख्या मन्त्री बनिसकेका छन् ।

मुख्यमन्त्रीसहित प्रदेश सरकारमा १२ जना मन्त्री रहँदा सर्लाहीको मात्रै ३ जना भएका छन् ।

यसैबिच, मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झन्डै एक महिनापछि ६ जना मन्त्रीले शपथ लिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

नेपाली कांग्रेसबाट शङ्कर चौधरी वन तथा वातावरण मन्त्री र श्यामप्रसाद पटेल भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री तथा जसपा नेपालबाट राजकुमार गुप्ता भौतिक पूर्वाधार विकास मन्त्री र मनिषकुमार सुमन श्रम तथा यातायात मन्त्री बनेका छन् । यस्तै जनमतबाट वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण र नेकपा (माओवादी केन्द्र) बाट फकिरा महतो गृह, सञ्चार तथा कानून मन्त्री बनेका छन् ।

नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख डा. सुरेन्द्र लाभबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । गएको मङ्सिर १९ गते नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णा यादव सातदलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

त्यही दिन तीन जना मन्त्री नियुक्त गरेका यादवले मङ्सिर २९ गते दुई जना मन्त्री नियुक्त गर्दै विनाविभागीय मन्त्रीहरूलाई समेत जिम्मेवारी तोकेका थिए ।