logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बसबरिया गाउँपालिकाको बजेट आज पारित हुँदै


  • उज्यालो अभियान

बसबरिया, १६ पुस – लामो रस्साकस्सीपछि सर्लाहीको बसबरिया गाउँपालिकाको चालु आर्थिक वर्षको बजेट आज बल्ल पारित हुँदै छ ।

जनप्रतिनिधिबिच सहमती जुटेपछि चालु आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गर्ने हिसाबले आज गाउँ सभाको बैठक बोलाइएको हो । बजेट बाँडफाँडमा गाउँपालिका अध्यक्ष रामसिंहासन राय यादव र उपाध्यक्ष सरिताकुमारी साह पक्षबिच सहमती जुट्न नसक्दा असारमै पारित गर्नुपर्ने नीति तथा कार्यक्रम र बजेट अझै रोकिएको थियो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिनबहादुर थापाले बजेट पारित गर्न आज गाउँ सभा बन्दसत्रको बैठक बोलाइएको जानकारी दिए । बजेट पारित गर्नकै लागि यसअघि विभिन्न चरणमा बजेटसँग सम्वन्धित राजस्व परामर्शसहितका अन्य समितिहरुको बैठक सौहार्दपूर्णरुपमा सम्पन्न भइसकेको छ ।

त्यसैले पनि आज गाउँसभा बन्द सत्रबाट बजेट पारित हुने आश गरिएको छ । गएको साउनदेखि तलब नपाएपछि कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीले केही दिनअघि गाउँपालिका कार्यालयमा धर्ना सुरु गरेपछि उनीहरुलाई पुस २५ गते तलब, भत्ता निकासा गर्ने सहमतीमा काममा फर्काइएको थियो ।

अब आज बजेट पारित भए प्रक्रिया पूरा गरेर तलब, भत्ता निकासी र योजनाका कामहरु अघि बढाइने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत थापाले बताए ।