मलंगवा, १५ पुस – विगत चार दिनदेखि घाम नलाग्दा जनजीवन झनझन कष्टकर बन्दै गएको छ ।
गत शनिबारदेखि रातदिन चिसो स्याँठ चलेर शीतलहर जारी रहँदा आममानिस प्रभावित बनिरहेका हुन् । बाहिरफेर निस्कँदा शीतलहरले भिज्ने गरिएको स्थानीयले बताएका छन् ।
कठ्याङग्रिदो चिसो र पानी परेको झैँ शीतलहर जारी रहँदा मानिसलाई घरबाहिर निस्कनै मुस्किल परेको हो । अत्यावश्यक काम परेर यात्रा गर्नुपर्नेहरु अझ बढी प्रभावित छन् ।
चिसो बढ्दै जाँदा मधेशका जिल्लाहरुमा धमाधम विद्यालय बन्द गर्न थालिएको छ । परीक्षा सञ्चालन गरिरहेका र दुई/चार दिनभित्रै परीक्षा सुरु गर्ने तयारीमा रहेका विद्यालयहरु भने चिसोको बाबजुत नियमित सञ्चालनमै रहेका छन् ।
दैनिक ज्याला मजदुरीमा निस्कनुपर्ने मजदुर र खेतबारीको काममा लाग्नुपर्ने किसान थप मारमा परेका छन् । रातदिन शीतलहर पर्ने गरेकाले तोरी, आलु, मसुरो, चना, लहरी र तरकारी बालीमा औषधि छिट्नसमेत नपाएको किसानले गुनासो गरेका छन् ।
जाडोले गर्दा किसानलाई चौपाय र पन्छी सुरक्षित राख्न हम्मेहम्मे परेको छ । चिसोले जनजीवन प्रभावित हुन थालेपछि सर्लाहीमा विभिन्न सामाजिक सङ्घसंस्था र मनकारी व्यक्तिले विद्यार्थी तथा समुदायस्तरमा कपडा र कम्बल वितरण गर्न थालेका छन् ।
स्थानीय पालिका र जिल्ला विपत् व्यवस्थापन समितिबाट भने अहिलेसम्म न्यानो प्रदान गर्ने प्रयाससम्म हुन सकेको छैन् । जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने बलरा नगरपालिकाले भने बल्ल आजबाट चिसो प्रभावितका लागि कम्बल वितरण गर्न सुरु गरेको छ ।
नगरप्रमुख रामाशंकरप्रसाद कुशवाहाले कठ्याङग्रिदो चिसोमा न्यानो ओढनेआछ्याउने नभएका विपन्न तथा दलित परिवारलाई नगरपालिकाको बजेटबाट कम्बल वितरण गर्न सुरु गरिएको बतए ।