हरिवन, १४ पुस – सर्लाहीको हरिवन नगरपालिकाले जाडो बढेपछि विद्यालय बन्द गर्ने निणय गरेको छ ।
अत्यधिक ठण्डी र शीतलहरका कारण बालबालिकाको स्वास्थ्य र पठनपाठनमा गम्भीर असर पर्न थालेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हरिवनका नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले जानकारी दिए । नगरप्रमुख बुढाथोकीले पर्सी १६ गतेदेखि लागु हुने गरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु अर्को सूचना जारी नहुन्जेलसम्म बन्द गरिएको बताए ।
भोली १५ गते गुरुङ समुदायले मनाउने तमु ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा नै रहेको छ । जाडो अत्यधिक बढेपछि जिल्लाको चन्द्रनगर गाउँपालिकाले हिजोदेखि नै आगामी २५ गतेसम्मका लागि विद्यालयहरु बन्द गरिसकेको छ ।
निरन्तरको शीतलहर र तुसारोले चिसो बढेर जनजीवन कष्टकर बनेपनि जिल्लाका अन्य पालिकाहरुले भने विद्यालय निरन्तर संचालन गरिरहेकै छन् । यसैबिच सर्लाहीमा आज पनि तुसारो परिरहँदा जनजीवन कष्टकर बनेको छ । बाहिर निस्कँदा पानी छिट्याएको झैँ भिज्ने गरी नै तुसारो पर्दा अत्यधिक जाडो भई जनजीवन प्रभावित बनेको हो ।
सर्लाहीमा तीन दिनदेखि घाम नलागेर यसरी शीतलहर जारी रहँदा जनजीवन नराम्ररी प्रभावित बनेको हो । चिसोले बालबालिका, वृद्धवृद्धा र अशक्त व्यक्ति तथा विपन्न बर्गका मानिस बढी प्रभावित बनेका छन् ।
यो बेला सकेसम्म घरभित्रै न्यानो भएर बस्न, ताता र झोलिला खानेकुरा प्रशस्त खान र बालबच्चा तथा दीर्घ रोगीहरुको विशेष ख्याल गर्न चिकित्सकले आग्रह गरेका छन् ।