logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

तुसारोले चिसो झनै बढ्यो, घाम नलाग्दा जनजीवन कष्टकर


  • उज्यालो अभियान

चिसो छल्न घुर (आगो) बालेर ताप्दै गरेका बालबालिका । (तस्बिर : रितिक यादव/उज्यालो अभियान)

मलंगवा, १३ पुस – सर्लाहीमा आज निरन्तर रुपमा स्याँठ चलेर तुसारो परिरहँदा जनजीवन कष्टकर बनेको छ ।

बाहिर निस्कँदा पानी छिट्याएको झैँ भिज्ने गरी नै तुसारो पर्दा अत्यधिक जाडो भई जनजीवन प्रभावित बनेको हो । सर्लाहीमा दुई दिनदेखि घाम नलागेर यसरी शीतलहर जारी रहँदा जनजीवन नराम्ररी प्रभावित बनेको हो ।

सर्लाहीको उत्तरी भेगमा अस्ती सुक्रबारसम्म दिउँसोपख पारिलो घाम लागेकोमा सदरमुकाम मलंगवासहित दक्षिणी भेगका भने त्यही दिनदेखि नै घाम देखा परेको छैन् । आज त अझ बिहानैदेखि तुसारो परिरहेकाले थप समस्या पैदा भएको हो ।

अहिले साँझ अझ बढी स्याँठ चलेर जिल्लाको सबैभेगमा तुसारो परिरहेको हाम्रा संवाददाताले जनाएका छन् ।

चिसोले बालबालिका, वृद्धवृद्धा र अशक्त व्यक्ति तथा विपन्न बर्गका मानिस बढी प्रभावित बनेका छन् । यो बेला सकेसम्म घरभित्रै न्यानो भएर बस्न, ताता र झोलिला खानेकुरा प्रशस्त खान र बालबच्चा तथा दीर्घ रोगीहरुको विशेष ख्याल गर्न चिकित्सकले आग्रह गरेका छन् ।

अहिले स–साना बालबालिकासहित अन्य मानिसमा चिसोजन्य स्वास्थ्य समस्या बढ्न थालिसकेको छ ।