logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

अपडेट : मृतकको शव परिवारले बुझे, ट्रक चालक पक्राउ


  • उज्यालो अभियान

लालबन्दी, ११ पुस – नवलपुर–मलंगवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, स्थित लर्डब्राइड वीजडेम बोडिङ नवलपुर अगाडि आज दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

दुर्घटनामा सोही ठाउँका ६९ वर्षीय मेन्डुक दोर्जे लोप्चनको मृत्यु भएको हो । लोप्चनलाई बोडिङमा नातिनीलाई खाजा छाडेर साइकलमा घर फर्कदै गर्दा नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना ७ ख ७३६९ नम्वरको ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनापछि स्थानीयले ट्रकमा ढुंगामुढा गरेर सिसा फुटाइदिएका छन् । केहीबेर अवस्था तनावग्रस्त बनेपछि तत्कालै ठुलो संख्यामा प्रहरी खटिएर थप अप्रिय घटना हुन दिएनन् । प्रहरीले सम्झाइबुझाइ गरेपछि मृतकका परिवार शव बुझ्न तयार भए ।

मृतकको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमपछि परिवारले बुझेर लगिपनि सकेका प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार रहेका ट्रकका चालक कविलासी नगरपालिका १ बस्ने २४ वर्षीय संगमकुमार यादवलाई समेत अहिले साँझ पक्राउ गरिसकिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिए ।

उनका अनुसार ट्रकसमेत प्रहरी नियन्त्रणमै रहेको छ ।