मलंगवा, १० पुस – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीले फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार छनौटको तयारी सुरु गरेको छ ।
त्यसका लागि आज सदरमुकाम मलंगवामा एक चरण सबै आकांक्षीहरुलाई राखेर छलफल गरिएको पार्टीका नेताहरुले बताएका छन् । जसमा विभिन्न नेताहरुले आफू चुनाव लड्न इच्छुक रहेको भन्दै आकांक्षीको नामावलीमा नाम दिएका छन् ।
भर्खरै विभिन्न राजनीतिक दलबीच एकीकरण भएर नेकपा गठन भएको हो । सर्लाहीमा विभिन्न ७ घटक यो पार्टीमा आवद्ध भएका छन् । आज सातै घटकका नेताहरुको उपस्थितिमा उम्मेदवार सिफारिसका लागि अनौपचारिक बैठक गरिएको हो । जसमा क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यमा पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल प्रचण्ड नै आएर चुनाव लड्ने चर्चासमेत भएको छ ।
स्रोतका अनुसार केन्द्रमा समेत प्रचण्ड सर्लाही आएर चुनाव लड्ने चर्चा भइरहेको छ । यस्तै क्षेत्र नं. ३ बाट पार्टीकै अर्का नेता नारायणकाजी श्रेठसमेत आएर चुनाव लड्ने चर्चा भइरहेको छ ।
आजको बैठकमा पनि यो विषयले चर्चा भएको सहभागी एक नेताले बताए । २०७९ को निर्वाचनमा सर्लाहीको क्षेत्र नं. १ बाट लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका रामप्रकाश चौधरी, नेपाली काग्रेस र तत्कालिन समाजवादी पार्टीको समर्थनमा सांसदमा निर्वाचित भएका थिए ।
यो पटक पनि लोसपाले एक नम्बर क्षेत्रबाट निवर्तमान सांसद चौधरीको एकल नाम सिफारिस गरिसकेको छ । त्यस्तै नारायणकाजी श्रेष्ठ चुनाव लड्न आउने चर्चा भएको क्षेत्र नं. ३ मा २०७९ मा नेकपा एमालेका हरिप्रसाद उप्रेती निर्वाचित भएका थिए ।
यस्तै नेकपाको आज बसेको बैठकमा प्रचण्ड र नारायणकाजीको चर्चासहित क्षेत्र नं. १ बाट प्रमोद साह, बेची लुंगेली, राधेश्याम पासवान, लुमडी धिमाल (लोचन), सुवासराज काफ्ले, रन्जित साह र जलसिंग पासवान, क्षेत्र नं. २ बाट निवर्तमान सांसद महिन्द्रराय यादव, रामेश्वर प्रसाद यादव, अशोक यादव र दिनेश राय यादव, क्षेत्र नं. ३ बाट रामेश्वर राय,शियाराम कुशवाहा, विश्वनाथ साह, श्यामबाबु यादव र राजकुमार राय यादव, क्षेत्र नं. ४ बाट डा. रजनिसकुमार यादव र अवनिस यादवले दावी गरेका छन् ।
अब भोली पुनः बैठक बसेर उम्मेदवारहरुको नामावली माथिल्लो कमिटीमा सिफारिस गर्ने निर्णय भएको नेकपाका एक नेताले जानकारी दिए ।
फागुन २१ को चुनावका लागि सर्लाहीमा अहिलेसम्म नेपाली कांग्रेस, लोसपा, जनमतसहितका केही दलले उम्मेदवार सिफारिस गरिसकेका छन् । प्रमुख राजनीतिक दल नेकपा एमालेले भने उम्मेदवार सिफारिस गर्नै बाँकी छ ।