logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

अन्तरपालिका मैत्रीपूर्ण किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न


  • उज्यालो अभियान

सागरनाथ, ०९ पुस -“पहिले गरौँ पढाइ पूरा अनि मात्र गरौं बिहेका कुरा” भन्ने मूल नाराका साथ सर्लाहीको ईश्वरपुर ४ सागरनाथ खेल मैदानमा हरिपुर र ईश्वरपुरका किशोरी क्रिकेट टिमबीच अन्तरपालिका मैत्रीपूर्ण किशोरी क्रिकेट प्रतियोगित सम्पन्न भएको छ ।

ग्रामीण नारी उत्थान संघ हरिपुर र सेभ द चिल्ड्रेनको सहयोग तथा ईश्वरपुर र हरिपुर नगरपालिका सँगको समन्वय तथा ईश्वरपुर वडा नम्बर ४ को वडा कार्यालय को मुख्य आयोजनामा बालविवाह विरुद्धको सन्देश दिनका निम्ति दुई फरक पालिकाका किशोरीहरू बीच मैत्रीपूर्ण प्रतियोगिता सम्पन्न भएको हो । १५ ओभरको जम्मा खेल खेलिएको उक्त क्रिकेट प्रतियोगितामा सुरुवाती टस जितेको हरिपुर किशोरी टिमले फिल्डिङ रोजी ईश्वरपुर किशोरी क्रिकेट टिमलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

जसमा ईश्वरपुरको तर्फबाट १५ ओभर पुरा खेल्दै ६ विकेटको क्षतिमा जम्मा ८८ रन पुरा गरी जितका लागि ८९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसमा जवाफी ब्याटिङमा हरिपुर किशोरी क्रिकेट टिमले १२ ओभरमै उक्त लक्ष्य हासिल गर्दै, ८९ रन दुई विकेटको नोक्सानीमा पूरा गर्दै खेलमा आठ विकेटको जित हासिल गरेको थियो ।

प्रतियोगितामा ईश्वरपुर किशोरी क्रिकेट टिमकी परी चौधरी ’प्लेयर अफ द म्याच’ घोषित भएकी थिइन । बालविवाह मुक्त वडा घोषणाका निम्ति सकारात्मक सन्देश प्रवाह होस् भन्ने उद्देश्यले ईश्वरपुर वडा नम्बर ४ को वडा कार्यालयले दुवै पालिका स्तरीय किशोरी क्रिकेट टिमबीच मैत्रीपूर्ण किशोरी क्रिकेट प्रतियोगिता सञ्चालन गरेको आयोजक ईश्वरपुर ४ नम्बर वडाका अध्यक्ष प्रेम कुमार थिंगले जानकारी दिए ।

कार्यक्रममा सागरनाथ माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष जनकलाल स्याङवा ले “यस किशोरी क्रिकेट को माध्यमबाट समुदायमा बालबालिका त्यसमा पनि किशोरावस्थाका किशोरीहरुलाई खेलको माध्यमबाट बालविवाह विरुद्धको सन्देश प्रवाह गर्दै, किशोरी खेल विकासका साथै महिला सशक्तिकरणका क्षेत्रमा वडाले एक महत्वपूर्ण कदम चालेकोमा ईश्वरपुर वडा ४ लाई धन्यवाद तथा ग्रामीण नारी उत्थान संघ हरिपुर र सेभ द चिल्ड्रेन लाई समेत विशेष धन्यवाद व्यक्त गरेका थिउ ।

वडाले यहि पुस ११ गते आफ्नो वडालाई बालविवाह मुक्त वडा घोषणा गर्न लागेको र सोही कार्यक्रमलाई सहयोग होस् भन्ने उद्देश्यले उक्त मैत्रीपूर्ण खेल प्रतियोगिता आयोजना गरेको थियो । ईश्वरपुर नगरपालिकामा बाल बिबाह मुक्त वडा घोषणा हुन लागेको यो दोस्रो वडा हो । जसका लागि ईश्वरपुर नगरपालिकाको “बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका २०८२“ अनुरूपको सूचक का सबै आवश्यक प्रक्रियाहरू पूरा भइसकेको वडा अध्यक्ष थिंगले जानकारी दिए ।

बाल विवाह बिरुद्धकै संदेश दिनका लागि ई. सं. २०२५ को सुरुवात देखि नै ईश्वरपुर र हरिपुरमा पालिका स्तरीय किशोरीहरुको क्रिकेट प्रशिक्षण कार्यक्रम सञ्चालनमा आईरहेको र समय–समयमा दुबै पालिकाहरु बिच मैत्रीपूर्ण खेल भैरहेको ग्रामीण नारी उत्थान संघका बाल संरक्षण फिल्ड संयोजक खडक नारायण चौधरीले बताए ।