logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

नवलपुरमा बन्यो फुटबल रंगशाला (तस्बीरहरु)


  • उज्यालो अभियान

नवलपुर, ०८ पुस – लालबन्दी नगरपालिका–१, नवलपुरमा फुटबल रंगशाला तयार भएको छ ।

स्थानीय जीवेश्वर यूवा क्लबले मधेश प्रदेश सरकार, लालबन्दी नगरपालिका, वडा कार्यालय र विभिन्न दाताहरुको सहयोगमा आकर्षक र व्यवस्थित फुटबल रंगशाला तयार पारेको हो । क्लबका अध्यक्ष दीपेन्द्र बुढाथोकीले मधेश प्रदेशकै नमूनाको रुपमा प्यारापिटसहितको रंगशाला तयार पारिएको जानकारी दिए ।

बुढाथोकीका अनुसार ५०० दर्शक क्षमताको प्यारापिट, ड्रेसिङ रुम, प्लेयर बक्स, शौचालय, बाथरुमसहितको सुविधायुक्त आकर्षक रंगशाला तयार पारिएको हो । सबै निकायको साथ, सहयोगले आकर्षक रंगशाला तयार भएपछि क्लबका पदाधिकारी र स्थानीय फुटबल प्रेमी उत्साहित भएका छन् ।

यो रंगशालामा तत्कालै प्रथम लालबन्दी मधेश प्रदेश आमन्त्रण मेयर गोल्डकप–२०८२ गराउने तयारी गरिरहेको क्लबका सल्लाहकार राजु राईले बताए । प्रदेशस्तरीय फुटबल प्रतियोगिताका लागि लालबन्दी नगरपालिका कार्यालयले आवश्यक बजेट प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको राईले बताएका छन् ।

ओझेल र उपेक्षामा परेको फुटबल मैदानलाई जीवेश्वर यूवा क्लबका पदाधिकारीले सक्रियता देखाएर रंगशाला नै बनाएका हुन् । सर्लाही क्षेत्र नं. १ (ख) की प्रदेशसभा सदस्य बेची लुंगेलीले आफ्नो संसदीय विकास कोषबाट प्रदान गरेको १० लाख रुपियाँले खेल मैदान स्तरोन्नतिको काम सुरु गरिएको थियो ।

रंगशाला निर्माण गर्न अहिलेसम्म प्रदेशसभा सदस्य लुंगेलीले प्रदान गरेको १० लाख रुपियाँसहित प्रदेश खेलकुद मन्त्रालयको ६५ लाख, भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदान गरेको १५ लाख र वडा कार्यालयले प्रदान गरेको १७ लाख रुपियाँ खर्च भएको क्लबका अध्यक्ष बुढाथोकीले बताए । रंगशालाका लागि विभिन्न व्यक्तिहरुले दराज, कुर्सी, टेबल, पंखा, बत्ती, बोरिङसहितका सामग्री सहयोग गरेका जीवेश्वर यूवा क्लबले जनायो ।

रंगशालामा पिसजोन इङ्गलिस बोडिङ्ग स्कुल लालबन्दी १ र कम्यूनिटी वेलफेयर इङ्गलिस स्कुल लालबन्दी ६ ले एक/एक वटा प्लेयर बक्स निर्माण गरिदिएका छन् ।