पत्रकार सम्मेलनमा उपस्थित आयोजकहरु । (तस्बिर : उज्यालो अभियान)
बागमती, ०३ पुस – नेपाल तामाङ घेदुङ बागमती नगर कार्यसमितिले सोनाम ल्होछारको अवसरमा बागमती माछा पोखरी ‘भरत ताल’ मा वृहद् साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
तामाङ समुदायले आगामी माघ ५ गते सर्प वर्गलाई विदाई गर्दै घोडा वर्गको स्वागत स्वरुप नयाँ साल अर्थात सोनाम ल्होछार पर्व मनाउँदैछन् । बुधबार दिउँसो आदर्श चोकस्थित सिता प्यालेस होटलमा आयोजित पत्रकार सम्मेलनमा माघ ६ गते सोनाम ल्होछारको अवसरमा वृहद् साँस्कृतिक कार्यक्रम गरिने आयोजकले बताएका हुन् । ‘५ गते घर–घरमा उल्लासका साथ पर्व मनाइने हुँदा ६ गते कार्यक्रम राखिएको हो’, समितिका अध्यक्ष रोशन लामाले भने, ‘विगत ४ वर्षदेखि ल्होछारको अवसरमा निरन्तर कार्यक्रम गर्दै आइरहेका छौं ।’
विगत वर्षहरु भन्दा यसपटक तामाङ समुदायको भाषा, लिपि, भेषभुषा, संस्कार संस्कृति, परिकारहरु समेत प्रदर्शन गरिने आयोजकले बताएका छन् । १ दिने कार्यक्रम बिहान १० बजेदेखि राती १० बजेसम्म सञ्चालन हुने अध्यक्ष तामाङले जानकारी दिए ।
आयोजकका अनुसार कार्यक्रममा राष्ट्रिय स्तरमा चर्चित कलाकारहरू फुल कुमार बोम्जन, विशाल काल्तान, सुमिना लो, रेश्मा बम्जन, उर्गेन दोङ, मोडलहरू रिया लामा, याङ्गी दोङ लगायतको प्रस्तुती रहने छ । स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने कार्यक्रममा डम्फु बजाउने, सेलो लगायतको समेत प्रस्तुती राखिएको अध्यक्ष तामाङले बताए ।
११ लाख १५ हजार लागत अनुमान गरिएको कार्यक्रम सम्पन्न गर्नका लागि संजय भ्लोनको संयोजकत्वमा तयारी समिति समेत गठन गरिएको आयोजकले बताएका छन् । कार्यक्रम सम्पन्न गर्नका लागि विभिन्न पालिकासहित तामाङ समुदायबाट आर्थिक सहयोग सङ्कलन गरिने अध्यक्ष तामाङले जानकारी दिए । पत्रकार सम्मेलनको सञ्चालन नेपाल तामाङ घेदुङ बागमती नगर समिति सचिव एवं संचारकर्मी चन्द्र बहादुर जिम्बाले गरेका थिए ।