logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बसबरिया : ६ महिनादेखि तलब नपाएपछि कर्मचारी धर्नामा


  • उज्यालो अभियान

निरजकुमार यादव/बसबरिया, ०२ पुस – साउनदेखि तलब नपाएपछि जिल्लाको दक्षिण पश्चिम भेगस्थित बसबरिया गाउँपालिकाका शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् ।

तलब माग गर्दै उनीहरु आजदेखि गाउँपालिका कार्यालयमा अनिश्चितकालिन धर्नामा बसेका हुन् । बसबरिया गाउँपालिकामा चालू आर्थिक वर्ष २०८२/८३ को बजेट अहिलेसम्म पारित हुन सकेको छैन् ।

यहाँ जनप्रतिनिधिबिच सहमती जुट्न नसक्दा बजेट पारित हुन नसकेको हो । गएको असारमा नै गाउँसभाको उद्घाटन सत्र प्रारम्भ भएको थियो ।

बजेट बाँडफाँडसम्वन्धी निर्णय गर्न बन्दसत्रमा सहमती जुट्न नसक्दा समस्या उत्पन्न भएको हो । बसबरिया गाउँपालिका–१, मानपुरमा रहेको त्रिुभवन माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रकिशोर रायले छ महिनासम्म तलब नपाउँदा घर, व्यवहार चलाउनै मुस्किल परेको गुनासो गरेका छन् ।

गाउँपालिकामा केही साताअघि हाजिर भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिनबहादुर थापाले बजेट पारित गराउन जनप्रतिनिधिबिच निरन्तर समन्वय गरिरहे पनि सहमती जुट्न सकेको छैन् । गएको भदौमा गाउँपालिका अध्यक्ष रामसिंहासन रायले गाउँसभाको बन्द सत्र गरेर बजेट पारित गर्ने प्रयास गरेका थिए तर उपाध्यक्ष सरिता कुमारी गाउँपालिका अध्यक्ष रायविरुद्ध उच्च अदालत जनकपुरमा निवेदन लिएर गईन् ।

उच्च अदालत जनकपुरले गाउँपालिका उपाध्यक्षको सहभागिताबिना बजेट, योजना र राजस्व प्रस्ताव सम्वन्धी कार्य नगर्न आदेश दिएको थियो । अदालतले मुद्दाको अन्तिम किनारा नभएसम्म कुनै पनि निर्णय वा कार्य नगर्नु भनी आदेश दिएपछि आफूले केही गर्नै नसकेको गाउँपालिका अध्यक्ष रायको भनाइ छ ।

आफूसँग गाउँ कार्यपालिकामा स्पष्ट बहुमत भए पनि बहुमतको आधारमा बजेट पारित गर्ने मनस्थितिमा नरहेको उज्यालो अभियानसँ बताए । “कसको अवरोधका कारण बजेट नआएको भन्ने कुरा सबैले बुझेकै छन्,” अहिले काठमाडौंमा रहेका गाउँपालिका अध्यक्ष रायले भने, “बहुमतको आधारमा बजेट पारित गराउन त सक्थेँ तर फेरि अर्को मुद्दाको तनाव किन बोक्नु भनेर चुप लागेरै बसिरहेको छु ।”

गाउँपालिका उपाध्यक्षले दायर गरेको मुद्दामा पुस २२ गते पेशी छ । गाउँपालिका उपाध्यक्षलाई सहमतीमा ल्याउन आफू र भर्खरै हाजिर भएका प्रमुख प्रशासकीय अधिकृतले निकै प्रयास गरे पनि उपाध्यक्ष अरुको इसारामा हिँडिरहेकाले समस्या परेको अध्यक्ष रायको आरोप छ ।

उपाध्यक्ष सरिता कुमारीले भने संविधानले दिएको काम, कर्तव्य र अधिकारीसमेत आफूलाई प्रदान नगरिएको गुनासो गरेकी छन् । काठमाडौंबाट घर फर्किदै गरेकी उनले आफू संयोजक रहेको समितिको बैठक नै बस्न नदिइएको टेलिफोनमा गुनासो गरेकी छन् ।