हरिपुर, २९ मंसिर – सर्लाहीको हरिपुर नगरपालिका–२, स्थित सानो जगतपुरमा जारी प्रथम हरिपुर गोल्डकपमा आज एभरेष्ट फुटबल एकेडेमी लालबन्दी र चन्द्रपुर रौतहटका महिला खेलाडीबिच मैत्रीपूर्ण फुटबल खेल खेलाइएको छ ।
जसमा चन्द्रपुरले एभरेष्टका महिला खेलाडीलाई ८–० गोलको फराकिलो अन्तरले पराजित गरेका छन् । प्रथम हरिपुर गोल्डकपको फाइनल खेल भने भोली हुँदै छ । फाइनलमा भोली उपाधिका लागि आयोजक नवसंघर्षशील यूवा क्लब हरिपुर र टिएसपी एफसी धनुषाले खेल्ने छन् । बिजेताले १ लाख ५० हजार र उपबिजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।
यस्तै, पर्सा गाउँपालिका–३, मा आजदेखि गाउँपालिका अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट सुरु भएको छ । प्रतियोगिताको मधेश प्रदेश सरकारका मन्त्री जंगिलाल राय र गाउँपालिका अध्यक्ष धिरेन्द्रकुमार यादव (विस्पद) ले उद्घाटन गरेका छन् ।
६ दिनसम्म चल्ने प्रतियोगिताको बिजेताले २५ हजार र उपबिजेताले १५ हजार प्राप्त गर्ने आयोजक पर्सा गाउँपालिकाले जनाएको छ ।