logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

प्रथम हरिपुर गोल्डकप : एभरेष्टलाई हराउँदै टिएसपी धनुषा फाइनलमा


  • उज्यालो अभियान

वुद्धबहादुर विश्वकर्मा/हरिपुर, २७ मंसिर – टिएसपी एफसी धनुषा प्रथम हरिपुर गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को फाइनलमा प्रवेश गरेको छ ।

आज सम्पन्न प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा एभरेष्ट फुटबल एकेडेमी लालबन्दीलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै धनुषा उपाधि नजिक पुगेको हो । खेलको पहिलो हाफमा गोल गर्दै अग्रता बनाएको एभरेष्ट मध्यान्तरपछि भने गोल खान पुग्यो ।

निर्धारित समयमा दुवै टिमबाट एक÷एक गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत खेलको नतिजा निकालिएको आयोजक नवसंघर्षशील यूवा क्लब हरिपुरका अध्यक्ष अमृत घिसिङले जानकारी दिए ।

ट्राइब्रेकरमा एक गोल रोक्नुका साथै आफूले समेत गोल गरेर टिमलाई जिताएका धनुषाका गोलरक्षक आकाश श्रेष्ठ प्रतियोगिताको म्यान अफ द म्याच बनेका छन् । उनलाई नगद १ हजार ५०० रुपैयाँसहित सम्मान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा भोली आयोजक नवसंघर्षशील यूवा क्लब हरिपुर र कुनै समय मोफसलको चर्चित क्लबका रुपमा रहेको वीरगन्ज युनाइटेडले प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल भने पुस १ गते मंगलबार हुने छ ।

बिजेतालाई १ लाख ५० हजार र उपबिजेतालाई ७५ हजार रुपैयाँ प्रदान गरिने छ ।

फाइनल खेलअघि पर्सी २९ गते एभरेष्ट फुटबल एकेडेमी लालबन्दीका महिला खेलाडी र रौतहटको चन्द्रनिगाहपुरका महिला खेलाडीबिच प्रतिस्पर्धा गराउने तयारी गरिरहेको आयोजक क्लबका अध्यक्ष घिसिङले बताए ।

हरिपुर नगरपालिका र हरिपुर नगरपालिका २ नं. वडा कार्यालयको आर्थिक सहयोगमा प्रथम हरिपुर गोल्डकप फुटबल प्रतियोगिता आयोजना भइरहेको हो ।