logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

प्रथम हरिपुर गोल्डकप : वीरगन्ज युनाइटेड क्वाटरफाइनलमा


  • उज्यालो अभियान

तस्बीर : वुद्धबहादुर विश्वकर्मा (दीपक)

हरिपुर, २४ मंसिर – कटारी टाइगर फूटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै मोफसलकै चर्चित र पुरानो क्लब वीरगन्ज युनाइटेड प्रथम हरिपुर गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

हरिपुर नगरपालिका २ सानो जगतपुर खेल मैदानमा आज सम्पन्न प्रतियोगिताको पहिलो चरण अन्तर्गतको अन्तिम खेलमा कटारीलाई पेनाल्टी सुटआउटमा ४–२ ले पाखा लगाउँदै वीरगन्जले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

वीरगन्जको जितमा गोलरक्षक दिलमणि चौधरी नायक बने । उनले टाइब्रेकरमा कटारीको दुई सशक्त प्रहारलाई बजाऊ गर्दै टिमलाई जित दिलाएका हुन् ।

आजको खेलमा चौधरी नै म्यान अफ द म्याच बन्दै नगद एक हजार ५०० रुपैयाँ प्राप्त गरेकाा छन् ।

प्रतियोगितामा भोलीबाट क्वाटरफाइनल चरणका खेल सुरु हुने छन् । भोली पहिलो क्वाटरफाइनलमा टिएसपी धनुषा र ब्रदर्श यूथ क्लब दुधौली सिन्धुलीले खेल्ने छन् ।

धनुषा हरिपुर यूवा समूहलाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा आइपुगेको हो भने दुधौलीले भने सोझै बाइ पाएर खेल्न लागेको हो । प्रतियोगितामा एभरेष्ट फुटबल एकेडेमी र चिडियादह स्टार चन्द्रनिगाहपुर रौतहट पहिलो खेलमा बिजयी भइ क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन् ।

आयोजक नवसंघर्षशील यूवा क्लबले भने सोझै बाइ पाएर पर्सी २६ गते चिडियादह स्टार चन्द्रनिगाहपुरसँग क्वाटरफाइनल खेल खेल्दै छ ।

नवसंघर्षशील यूवा क्लब हरिपुरले हरिपुर नगरपालिका र हरिपुर वडा नं. २ को आयोजनामा स्थानीयस्तरमा ठूलो फुटबल प्रतियोगिता आयोजना गरिरहेको हो । प्रतियोगिताको बिजेताले एक लाख ५० हजार र उपबिजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।

प्रतियोगिताको फाइनल खेल पुस १ गते हुने आयोजक क्लबका अध्यष अमृत घिसिङले जानकारी दिए ।