लालबन्दी, २३ मंसिर – नेपाली कांग्रेस सर्लाहीको आज १, २ र ४ नम्वर निर्वाचन क्षेत्रमा आगामी निर्वाचनको उम्मेदवार सिफारिस गर्ने सम्वन्धमा बैठक सम्पन्न भएको छ ।
क्षेत्रीय कार्य समिति, संघीय तथा प्रदेश महाधिवेशन प्रतिनिधि र वडा सभापतिहरु समेतको उपस्थितिमा क्षेत्र नं. १ को बयलवास, २ को मलंगवा र ४ को धनकौलमा बृहत बैठक बसेको हो । केन्द्रीय कार्य समितिले सर्लाहीको ४ वटा निर्वाचन क्षेत्रमा प्रत्येक निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ एक महिलासहित ३ जना, समानुपातिकतर्फ पनि एक महिलासहित ३ जना र राष्ट्रिय सभामा एक जनाको मात्रै नाम सिफारिस गरेर पठाउन परिपत्र गरेको छ । त्यसकै लागि आज क्षेत्रीय कार्य समितिको अगुवाईमा आ–आफ्नो निर्वाचन क्षेत्रमा बृहत बैठक बसेको हो ।
तर क्षेत्र नं. १ र २ मा धेरै जना आकांक्षी देखिएपछि आजको बैठकले कसैको पनि नाम सिफारिस गर्न सकेन । क्षेत्र नं. १ का सभापति हरिबहादुर लंगेलीले प्रत्यक्षतर्फ ९÷१० जनाको नाम आएपछि निर्णय लिन गाह्रो परेको बताए । उनका अनुसार भोली फेरि बैठक बस्ने छ ।
आज बिहान मात्र बसेको कांग्रेस क्षेत्र नं. १ (ख) को बैठकले प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन क्षेत्र भित्रैका नेतालाई उम्मेदवार सिफारिस गर्न माथिल्लो समितिलाई आग्रह गर्ने निर्णय गरेको क्षेत्र नं. १ (ख) का क्षेत्रीय सभापति सीताराम दाहालले बताए
यस्तै क्षेत्र नं. २ मा पनि धेरै जना आकांक्षी देखिए पछि आज उम्मेदवार सिफारिसको निर्णय हुन सकेन । क्षेत्रीय सभापति कौशलकिशोर रायले आजको बैठक हलले अब क्षेत्रीय कार्य समितिलाई नै उम्मेदवार सिफारिस गर्ने जिम्मेवारी दिएको दावी गर्दै कार्य समितिको मात्रै बैठक गरेर तत्कालै उम्मेदवार सिफारिस गर्ने बताए ।
क्षेत्र नं. ४ को बैठकले भने प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ पार्टीका महामन्त्री गगनकुमार थापा र अहिले प्रदेशसभा सदस्य रहेका वीरन्द्रप्रसाद सिंहको नाम सिफारिस गरेको छ । महामन्त्री थापाले ३ दिनअघि सदरमुकाम मलंगवामा पत्रकारसँग कुरा गर्दै आफू काठमाडौंबाटै चुनाव लड्ने बताएका थिए ।
थापाले त्यसो भन्दा भन्दै यहाँबाट नाम सिफारिस हुनु र उनी आफै पनि निरन्तर ४ नं. क्षेत्रमा विभिन्न बहानामा नेता, कार्यकर्तासँग भेट गर्न आइरहेकाले चुनाव लड्न सर्लाही आउन सक्ने पनि आंकलन भइरहेका छन् ।
कांग्रेस क्षेत्र नं. ३ को बैठक भने एक/दुई दिनपछि मात्रै बस्ने भएको छ । कांग्रेस सर्लाहीका जिल्ला सचिव निरज कार्कीले क्षेत्रीय सभापति बिरामी रहेकाले आज अन्य क्षेत्रसँगै ३ नं. क्षेत्रमा बैठक बस्न नसकेको बताए । उनका अनुसार क्षेत्रबाट आएको नामलाई आधार मानेर मंसिर २६ गते बस्ने जिल्ला कार्य समितिको बैठकले सबैक्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गर्ने छ ।
आजको बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणबारे समेत छलफल गर्ने भनिए पनि उम्मेदवार सिफारिसकै विषय नटुंगिएपछि खासै बहस हुन नपाएको कांग्रेस नेताहरुले बताएका छन् ।