logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

प्रथम हरिपुर गोल्डकप सुरु, पहिलो खेलमा एभरेष्टको जित


  • उज्यालो अभियान

वुद्धबहादुर विश्वकर्मा/हरिपुर, २१ मंसिर – आजबाट सुरु भएको प्रथम हरिपुर गोल्डकप फुटबल प्रतियोगिता–२०८२ मा एभरेष्ट फुटबल एकेडेमी लालबन्दी-५ ले विजयी सुरुवात गरेको छ ।

हरिपुर नगरपालिका–२, स्थित सानो जगतपुर खेल मैदानमा आज सम्पन्न उद्घाटन खेलमा गोलबजार स्पोर्टस् क्लब सिरहालाई १–० ले पराजित गर्दै एभरेष्टले प्रतियोगितामा पहिलो जित दर्ता गराएको हे । एभरेष्टको जितमा खेलको मध्यान्तरपछि अविनास लामाले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । आजको खेलमा लामा नै म्याद अफ द म्याच बन्दै नगद एक हजार ५०० रुपियाँ प्राप्त गरेका छन् ।

हरिपुर नगरपालिका र हरिपुर २ नं. वडा कार्यालयको आर्थिक सहयोगमा नव सङ्घर्षशील यूवा क्लबले आयोजना गरेको प्रतियोगितामा आयोजकसहित १० टिमको सहभागिता रहेको क्लबका अध्यक्ष अमृत घिसिङले उज्यालो अभियानसँग बताए । घिसिङका अनुसार प्रतियोगिताको बिजेतालाई ट्रफीसहित एक लाख ५० हजार र उपबिजेतालाई ७५ हजार रुपियाँ प्रदान गरिने छ ।

त्यस्तै प्रत्येक दिनको खेलका म्याद अफ द म्याचलाई एक हजार ५००, प्रतियोगिताभरमा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही पाँच हजार र प्रतियोगिताकै सर्वोत्कृष्ट एक खेलाडीलाई नगद आठ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनायो ।

फुटबल प्रतियोगिता आयोजना गर्न हरिपुर २ नं. वडा कार्यालयले पाँच लाख रुपियाँ र नगरपालिका कार्यालयले चार लाख रुपियाँ बजेट विनियोजन गरेको हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापाले बताए । पुस १ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगिताको आज नगरप्रमुख गोपाल पजियारले उद्घाटन गरेका हुन् ।

प्रतियोगितामा भोली सोमबार हेटौंडा फुटबल एकेडेमी मकवानपुर र चिडियादह स्टार रौतहटबिच प्रतिस्पर्धा हुने छ ।