logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

प्रथम हरिपुर गोल्डकप : उद्घाटन खेलमा एभरेष्ट र गोलबजार खेल्दै 


  • उज्यालो अभियान

हरिपुर, २१ मंसिर – प्रथम हरिपुर गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै छ ।

सर्लाहीको हरिपुर नगरपालिका–२, स्थित नव संघर्षशील यूवा क्लबको खेल मैदान जगतपुरमा प्रतियोगिता सुरु हुन लागेको हो । १० टिम सहभागी प्रतियोगिताको उद्घाटन खेलमा आज एभरेष्ट फुटबल एकेडेमी लालबन्दी र गोलबजार स्पोर्टस् क्लब सिरहाले प्रतिस्पर्धा गर्ने छन् ।

खेल दिउँसो २ बजेपछि सुरु हुने आयोजक नव संघर्षशील युवा क्लबका अध्यक्ष अृमत घिसिङले जानकारी दिए । प्रतियोगितामा आयोजक नवसंघर्षशील यूवा क्लब हरिपुरसहित एभरेष्ट फुटबल एकेडेमी लालबन्दी, गोलबजार स्पोर्टस् क्लब सिरहा, हरिपुर यूवा समूह सर्लाही, टि एस पि फूटबल क्लब धनुषा, ब्रदर्श यूथ क्लब दुधौली सिन्धुली, वीरगन्ज युनाइटेड पर्सा, कटारी टाइगर फूटबल क्लब उदयपुर, हेटौंडा फूटबल एकेडेमी मकवानपुर र चिडियादह स्टार रौतहटले सहभागिता जनाउने छन् ।

हरिपुर नगरपालिका कार्यालय मुख्य प्रायोजक तथा हरिपुर २ नंं. वडा कार्यालय र हरिपुर यूवा समाज सह–प्रायोजक रहेको प्रतियोगिताको बिजेताले ट्रफीसहित नगद एक लाख ५० हजार रुपियाँ हात पार्ने छ । दोस्रो हुने टिमलाई ७५ हजार रुपियाँ प्रदान गरिने हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापाले बताए ।

प्रत्येक दिनको खेलका म्याद अफ द म्याचलाई एक हजार ५००, प्रतियोगिताभरमा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही पाँच हजार र प्रतियोगिताकै सर्वोत्कृष्ट एक खेलाडीलाई नगद आठ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाइनल खेलअघि मङ्सिर २९ गते सर्लाहीको एभरेष्ट फुटबल एकेडेमीका महिला खेलाडी र रौतहटको चन्द्रनिगाहपुरका महिला खेलाडीबिच मैत्रीपूर्ण फुटबल खेल गराउने आयोजकको तयारी छ ।