आश्रीता कोइराला/लालबन्दी, १९ मंसिर – सर्लाहीसहित तराई मधेश क्षेत्रमा धुलो, धुँवाको अत्यधिक प्रकोप हुँदा मानिसमा स्वास्थ्य समस्या बढ्न थालेको छ ।
जताततै सडक भत्काएर नयाँ सडक निर्माण गर्ने, धान काटेर पराल जनाउने र साँझपख सडक छेउ तथा घर, गोठमा घुर बालेर छाड्दा धुलो, धुँवाको अत्यधिक प्रकोप देखिएको हो । धुलो, धुँवाका कारण अहिले हरेक उमेर समूहका मानिसमा स्वास्थ्य समस्या देखिएको चिकित्सकले बताएका छन् ।
अधिकांश मानिसमा हिजोआज आँखा पोल्ने, रुघा लाग्ने, टाउको दुख्ने, खोकी लाग्ने, ज्वरो आउने, दम बढ्ने, छाती दुख्नेजस्ता स्वास्थ्य समस्या देखिन थालेको नगर अस्पताल लालबन्दीका मेडिकल अधिकृत डा. बोधराज बुढाथोकीले जानकारी दिए । उनका अनुसार अहिले लालबन्दीस्थित नगर अस्पतालमा उपचारका लागि दैनिक रुपमा आउने १५० देखि २०० जना बिरामीमध्ये धेरैजसो बिरामीमा मौसम परिवर्तनजन्य स्वास्थ्य समस्या देखिएको छ ।
बिस्तारै चिसोसमेत बढ्दै गइरहेकाले दम, एलर्जी, घाँटी दुख्ने, रुघाखोकी लाग्नेजस्ता स्वास्थ्य समस्या बढ्दै जाने भएकाले सावधानी अपनाउन डा. बुढाथोकीको आग्रह छ । वातावरण प्रदुषणले गर्दा अहिले स–साना बालबालिकासमेत अत्यधिक बिरामी पर्न थालेका छन् ।
सदरमुकाम मलंगवास्थित स्तुति सौम्या हेल्थ केयरका बाल रोग विशेषज्ञ डा. गुणेश्वर झाले यो समयमा बालबालिकालाई अझ बढी स्वास्थ्य समस्या देखा पर्छ । मौसम परिवर्तन भइरहेको र जताततै धुलो, धुँवा रहेकाले बालबालिकामा कफ बन्ने, नाकबाट पातलो सिङ्गान बग्ने, खोकी लाग्ने, ज्वरो आउनेजस्ता समस्या देखिने डा. झाले उज्यालो अभियानसँग बताए ।
हरेक उमेर समूहका मानिसमा स्वास्थ्य समस्या देखिएकाले धुलो, धुँवा र चिसोबाट जोगिने उपाय अपनाउन चिकित्सकको आग्रह छ । रुघाखोकी र ज्वारोलाई सामान्य ठानेर औषधि पसलबाट जथाभावी औषधि किनेर खाँदा स्वास्थ्य अवस्था थप जटिल हुने भएकाले स्वास्थ्य परीक्षण गराएर मात्रै औषधि सेवन गर्न गैर औषधालय नवलपुरका डा. देवेन्द्रकुमार झाले आग्रह गरेका छन् ।