logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

४२० जनामा मोतीविन्दुको निःशुल्क शल्यक्रिया


  • उज्यालो अभियान

बयलवास, १९ मंसिर – ईश्वरपुर नगरपालिकास्थित बयलवासमा ४२० जना मोतीविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।

आँखा उपचार केन्द्र ईश्वरपुरले भरतपुर आँखा अस्पताल चितवनसँग समन्वय गरी मङ्सिर १४ गतेदेखि आजसम्म संचालन गरेको शिविरमा ४२० जनाको आँखामा देखिएको मोतीविन्दुको अप्रेसन गरिएको हो । गाउँगाउँबाट आएका बिरामीलाई मोतीविन्दुको शल्यक्रियासहित चश्मा र आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको आँखा उपचार केन्द्र ईश्वरपुरका इन्चार्ज चन्दनमणि रामले उज्यालो अभियानसँग बताए ।

मंसिर १४, १५ र १६ गते मात्रै शल्यक्रिया शिविर सञ्चालन गर्ने योजना रहे पनि बिरामीको अत्यधिक चापलाई मध्यनजर गरी शिविरलाई थप तीन दिन लम्ब्याइयो । ईश्वरपुर नगरपालिकाको विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरी त्यहाँ फेला परेका मोतीविन्दुका बिरामीलाई ईश्वरपुर ९ स्थित सामुदायिक आँखा उपचार केन्द्रमा ल्याएर निःशुल्क शल्यक्रिया गरिएको हो ।

शिविरको दौरानमा तीन हजार ६०० बिरामीको आँखा परीक्षण गरिएको आँखा उपचार केन्द्र ईश्वरपुरले जनाएको छ । मोतीविन्दुका बिरामीलाई भरतपुर आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा. पुष्पा गिरी श्रेष्ठको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले एक सातासम्म बसेर शल्यक्रिया गरेको ईश्वरपुर नगरपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई शाखाका प्रमुख सुगेन्द्र महतोले बताए ।

उहाँका अनुसार नगरपालिकाकै सबैभन्दा विकट क्षेत्रमा पर्ने पिपलदमार, लामिदमारलगायत चुरेभेगका बिरामीलाई बयलवासम्म अप्रेसनका लागि ल्याउन नगरपालिकाबाट एम्बुलेन्ससमेत पठाइएको थियो ।