logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

प्रथम हरिपुर गोल्डकप : १० टिमले सहभागित जनाउने


  • उज्यालो अभियान

हरिपुर, १९ मंसिर – पर्सी आइतबारदेखि सुरु हुन लागेको प्रथम हरिपुर गोल्डकपमा १० टिमले सहभागिता जनाउने भएका छन् ।

पुस १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक नव सङ्घर्षशील यूवा क्लब हरिपुरसहित १० टिमको सहभागिता निश्चित भएको हो । प्रतियोगितामा एभरेष्ट फुटबल एकेडेमी लालबन्दी, गोलबजार स्पोर्टस् क्लब सिरहा, हरिपुर यूवा समूह सर्लाही, टि एस पि फूटबल क्लब धनुषा, ब्रदर्श यूथ क्लब दुधौली सिन्धुली, वीरगन्ज युनाइटेड पर्सा, कटारी टाइगर फूटबल क्लब उदयपुर, हेटौंडा फूटबल एकेडेमी मकवानपुर र चिडियादह स्टार रौतहटले सहभागिता जनाउने भएका हुन् ।

हरिपुर नगरपालिका २ स्थित नवसंघर्षशील यूवा क्लबको खेल मैदान जगतपुरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आइतबार एभरेष्ट फूटबल एकेडेमी सर्लाही र गोलबजार स्पोर्टस् क्लब सिरहाले प्रतिस्पर्धा गर्ने आयोजक नवसंघर्षशील यूवा क्लबका अध्यक्ष अमृत घिसिङले जानकारी दिए । हरिपुर नगरपालिका कार्यालय मुख्य प्रायोजक तथा हरिपुर २ नंं. वडा कार्यालय र हरिपुर यूवा समाज सह–प्रायोजक रहेको प्रतियोगिताको बिजेताले ट्रफीसहित नगद एक लाख ५० हजार रुपियाँ हात पार्ने छ ।

दोस्रो हुने टिमलाई ७५ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक दिनको खेलका म्याद अफ द म्याचलाई एक हजार ५००, प्रतियोगिताभरमा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही पाँच हजार र प्रतियोगिताकै सर्वोत्कृष्ट एक खेलाडीलाई नगद आठ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाइनल खेलअघि मङ्सिर २९ गते सर्लाहीको एभरेष्ट फुटबल एकेडेमीका महिला खेलाडी र रौतहटको चन्द्रनिगाहपुरका महिला खेलाडीबिच मैत्रीपूर्ण फुटबल खेल गराउने आयोजकको तयारी छ ।

फुटबल प्रतियोगितालाई सफलतपूर्वक सम्पन्न गर्न अहिले तयारीका काम तीव्रताका साथ भइरहेको हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापाले बताए ।