नारायणखोला, १८ मंसिर – सर्लाहीको उत्तरी चुरेवर्ती विकट क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायणखोलास्थित जनता प्राथमिक विद्यालय हात्तिसुँढेलाई युवाहरुले पैसा संकलन गरी कम्प्युटर र प्रिन्टर प्रदान गरेका छन् ।
सर्लाहीसहित विभिन्न जिल्लाका मनकारी युवाले व्यक्तिगत रुपमा आर्थिक सहयोग प्रदान गरी विद्यालयलाई कम्प्युटर र प्रिन्टर उपलब्ध गराएका हुन् । १८ जना मिलेर एक हजारदेखि पाँच हजार रुपैयाँसम्म संकलन गरी हात्तिसुँढेस्थित उक्त विद्यालयलाई एक थान कम्युटर र एउटा प्रिन्टर प्रदान गरिएको हो ।
विद्यालयलाई आफ्नो प्रयोजनका लागि कुनै कागजात फोटोकपीको काम गर्नुपर्दा चार/पाँच घण्टा खर्चिएर पत्थरकोट वा लालबन्दी आउनुपर्ने बाध्यता रहेकाले युवाहरु मिलेर सकेको आर्थिक संकलन गरी खरिद गरिएको कम्प्युटर र प्रिन्टर विद्यालयलाई हस्तान्तरण गरिएको सहयोग संकलनकर्ता एवं होलीडे रिसोर्ट पत्थरकोटका संचालक अभिषेक नगरकोटीले उज्यालो अभियानसँग बताए । उनका अनुसार १८ जनाबाट ५१ हजार ४२२ रुपैयाँ सहयोग संकलन भएको थियो ।
युवाहरु आफैले पैसा उठाएर खरिद गरेका कम्प्युटर र प्रिन्टर नारायणखोलास्थित हात्तीसुँढे प्राविमै पुगेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंखबहादुर दोङ र निमित्त प्रधानाध्यापक शुक्रबहादुर थिङलाई हस्तान्तरण गरेका छन् ।
सडक सन्जालमा नजोडिएको लालबन्दी नगरपालिका वडा नं. १४ (साबिक नारायणखोला गाविस) मा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिजुली, प्रविधि, टेलिफोन, इन्टरनेटलगायतको समस्या रहेको छ ।