बयलवास, १५ मंसिर – सर्लाहीको ईश्वरपुर नगरपालिका–७, बयलवासस्थित सामुदायिक आँखा उपचार केन्द्रमा आजदेखि मोतीविन्दुको निःशुल्क अप्रेसन शिविर सुरु भएको छ ।
आँखा उपचार केन्द्रले भरतपुर आँखा अस्पतालसँग समन्वय गरी मोतीविन्दुको निःशुल्क अप्रेसन क्याम्प सुरु गरेको हो । बुधबारसम्म संचालन हुने शिविरमा ५०० जनाको मोतीविन्दुको अप्रेसन गर्ने योजना रहेको भरतपुर आँखा अस्पतालमा बाह्य कार्यक्रम संयोजक रमेश घिमिरेले जानकारी दिए ।
मोतीविन्दुको अप्रेसन क्याम्पको आज नगरप्रमुख मनोजकुमार आचार्य, नेपाली सेनाको कालिध्वज गण पाँचकुमारीका गणपति उमेश खड्कालगायत भएर औपचारिक रुपमा उद्घाटन गरेका छन् । शिविरको उद्घाटनकै अवसरमा भरतपुर आँखा अस्पतालले नेपाली सेनाको कालिध्वज गणलाई १०० थान चश्मा प्रदान गरेको छ ।

शिविरमा भरतपुर आँखा अस्पतालका डा. पुष्पा गिरी श्रेष्ठको नेतृत्वमा मोतीविन्दुका बिरामीको शल्यक्रिया गरिने ईश्वरपुर नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक सुगेन्द्र महतोले बताए ।
सामुदायिक आँखा उपचार केन्द्रका उपाध्यक्ष प्रकाश मैनालीले संचालन गरेको कार्यक्रममा ईश्वरपुर नगरपालिकाको विभिन्न वडाका वडाध्यक्ष, इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक नितेशकुमार सिंह, समाजसेवी सुनिता आचार्य श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।