जिल्ला निर्वाचन कार्यालय सर्लाही ।
आश्रीता कोइराला/लालबन्दी, ०८ मंसिर – पछिल्लो पटक निर्वाचन घोषणा भएपछि सर्लाहीमा २२ हजार मतदाता थप भएका छन् ।
चुनाव घोषणा गरेपछि मतदाता नामावली दर्ता रोक्ने व्यवस्था रहेकोमा यसपटक सरकारले अध्यादेशमार्फत कानुन परिवर्तन गरेर सर्लाहीसहित देशैभर मतदाता नामावली संकलन गर्यो ।
मतदाता नामावली सम्वन्धी अध्यादेश जारी भएदेखि मंसिर ५ गतेसम्म सर्लाहीमा २२ हजार ५९५ नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी शिवनारायण साहले आज उज्यालो अभियानसँग बताएका छन् । उनका अनुसार नयाँ थपिएका मतदातामध्ये ६ हजार ५०० जनाले सदरमुकाम मलंगवास्थित निर्वाचन कार्यालयमै आएर नामावली दर्ता गराएका हुन् ।
कार्यालयमा आएर बायोमेट्रिक दिइ नामावली दर्ता गराउने भन्दा अनलाइनबाट दर्ता गराउने सेवाग्राही झण्डै तेब्बरले बढी छन् । जिल्लामा अनलाइनबाट १६ हजार ९५ जनाले राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराएका जिल्ला निर्वाचन अधिकारी साहले बताए
निर्वाचन आयोगले मतदाता नामावलीमा कुनै त्रुटि भए सच्याउनका लागि मंसिर २१ गतेदेखि २७ गतेभित्र निवेदन दिन सक्ने उल्लेख गरेको छ । सर्लाहीमा निर्वाचन घोषणा भएपछि थपिएका २२ हजार ५९५ मतदाताबाहेक यसअघि ४ लाख ९० हजार ४ जना मतदाता रहेका थिए ।
फागुन २१ को निर्वाचनको तयारीस्वरुप जिल्ला सुरक्षा अधिकारी र निर्वाचन कार्यालयको टोलीले आजदेखि मतदानस्थलहरुको निरीक्षण सुरु गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए ।