मलंगवा, ०७ मंसिर – जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रहरी जवान अजय सहनीलाई कात्तिक महिनाको उत्कृष्ट प्रहरी (पुलिस अफ द मन्थ) सम्मान प्रदान गरेको छ ।
कृषि प्रयोजनका लागि जिल्लाका विभिन्न स्थानमा जडान गरिएको विद्युत ट्रान्सफर्मर चोरी गर्ने गिरोहका नौ जनालाई नियन्त्रणमा लिइ कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मलङ्गवा सर्लाहीको सञ्चार शाखामा कार्यरत प्राविधिक प्रहरी जवान सहनीलाई सम्मान गरिएको हो । सर्लाही प्रहरीले ट्रान्सफर्मर चोरीमा संलग्न गिरोहका पाँच नेपाली र चार भारतीयलाई केही दिनअघि मात्र पक्राउ गरेको थियो । प्रहरीले ति मानिससहित ट्रान्सफर्मरमा प्रयोग गरिने तामाको तार १०३.८ केजी, विभिन्न औजार ५१ थान, दुईवटा ई–रिक्सा र ११ थान मोवाइलसमेत बरामद गरेको थियो ।
खेतमा सिँचाईका लागि जडान गरिएको बिजुलीको ट्रान्सफर्मर श्रृङ्खलावद्ध रुपमा चोरी गरेर कृषक र प्रहरीलाई हैरान पार्ने गिरोहका मानिस पक्राउ गर्न प्रहरी जवान सहनीले महत्वपूर्ण भूमिका निर्वाह गरी लगनशील, इमान्दार र कर्तव्यनिष्ठ भएर काम गरेकाले सम्मान–पत्र र नगदसहित सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।
एसपी खड्काले नै आज जिल्ला प्रहरी कार्यालयमा आयोजित जिल्लाभरका प्रहरी युनिटका इन्चार्जहरुको उपस्थितिमा सम्पन्न मासिक बैठकमा प्रहरी जवान सहनीलाई सम्मान–पत्र प्रदान गरी सम्मान गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले यसअघि असोज महिनामा सञ्चार शाखामै कार्यरत प्रहरी हवल्दार बिनिता थापालाई महिनाको उत्कृष्ट प्रहरी पुरस्कार प्रदान गरेको थियो ।