जिल्ला निर्वाचन कार्यालय सर्लाही ।
मलंगवा, ३० कात्तिक – सर्लाहीमा साँढे ५ हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन् ।
गएको असोज १२ गतेदेखि हिजो शनिबारसम्म सर्लाहीमा पाँच हजार ६१३ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख शिवनारायण साहले उज्यालो अभियानसँग बताए । निर्वाचन आयोगले अहिले सर्लाहीसहित देशैभर फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलक्षित मतदाता नामावली संकलन कार्य गरिरहेको छ ।
हिजो शनिबारसमेत कार्यालय खोलेर ४९ जना सेवाग्राहीको मतदाता नामावलीमा नाम दर्ता कार्य गरिएको छ । नयाँ थपिएका मतदातामध्ये तीन हजार २८९ पुरुष र दुई हजार ३२४ महिला रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालयमा केही दिन दैनिक सात/आठ सयसम्म सेवाग्राही मतदाता नामावलीमा नाम दर्ता गर्न पुगेका थिए । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र हुनेको मतदाता नामावली दर्ता कार्य घरबाटै अनलाइनमार्फत गर्न सक्ने व्यवस्था गरेपछि भने कार्यालयमा सेवाग्राहीको चाप घट्न थालेको छ ।
निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र बनाउँदा लिइएको व्यक्तिको जैविक तथ्याङ्क (बायोमेट्रिक) प्रयोग गरेरै अनलाइनबाट मतदाता नामावलीमा नामदर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । चन्द्रनगर गाउँपालिका–२, बबरगन्जका शिवनाथ राउतले आफूले १५० भन्दा बढी व्यक्तिको निःशुल्क मतदाता नामावलीमा नामदर्ता गराइदिएको जानकारी दिए ।
घरबाटै अनलाइनमार्फत भरिएको विवरण जिल्ला निर्वाचन कार्यालयले ‘एप्रुभ’ गरेपछि मोवाइल नम्बरमा म्यासेज आउने छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख साहले सर्लाही जिल्लाभरका लागि भरिएको विवरणको एक/दुई दिनभित्रै एप्रुभ गर्ने काम हुने जानकारी दिए ।
फागुन २१ को निर्वाचन घोषणा हुनुअघि सर्लाहीमा ४ लाख ९० हजार ४ जना मतदाता रहेका थिए ।
मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता देखिएपछि निर्वाचन आयोगले ५ दिन म्याद थप गर्दै मंसिर ५ गतेसम्म देशैभरका निर्वाचन कार्यालयमा गएर तथा अनलाइनबाट नामावली दर्ताको व्यवस्था मिलाएको छ ।