logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

तालिममार्फत अध्यापनको रुपान्तरण : चौलागाईको यात्रा


  • उज्यालो अभियान

लालबन्दी – प्रेमज्योति आधारभूत विद्यालयकी तेस्रो कक्षाकी अध्यापिका (ग्रेड टिचर) सुस्मिता चौलागाईले पेशागत तालिमले कसरी कक्षाकोठाको अध्यापन र सिकाइको परिणामलाई रुपान्तरण गर्न सक्छ भन्ने देखाएकी छिन्।

२०२५ जूनको पहिलो सातासम्म उनले कुनै पनि व्यावसायिक तालिम लिएकी थिइनन् र आफ्नै विगतको ज्ञान र परम्परागत शैलीमा अध्यापन गर्दै आएकी थिइन्। उनी मेहनतपूर्वक अध्यापन गर्थिन्, तर प्रायः सोच्थिन् कि यस्तो परम्परागत विधिले आधुनिक समयमा विद्यार्थीहरूको चाहना पूरा गर्न सक्दैन।

उनी विद्यार्थीलाई सिर्जनात्मक र सिकाइमा सक्रिय बनाउन चाहन्थिन्, तर आफ्नो विगतको ज्ञान र परम्परागत शैलीबाट त्यो हासिल गर्न सकेकी थिइनन्।
सबै कुरा जब बदलियो, जब उनलाई २०२५ जून ६–१० मा युनिसेफ नेपालको आर्थिक सहयोग तथा पिपल प्रोमोट सेन्टर धनुषाद्वारा आयोजित पाँच दिने एकीकृत पाठ्यक्रम सम्बन्धी तालिममा सहभागी हुने अवसर मिल्यो।

यो तालिम पिपल प्रमोट सेन्टरको “ गुणस्तरीय सिकाइका लागि स्थानीय तह तथा विद्यालयहरुको क्षमता अभिवृद्धि कार्यक्रम” अन्तर्गतको कार्यक्रममा समावेश भएकी थिइन। तालिमले शिक्षकलाई एकीकृत र बालकेन्द्रित शिक्षा दिन सक्षम बनाउन डिजाइन गरिएको थियो, जसले समुह अभ्यास पद्धति, पाठ एकीकरण प्रविधि र गतिविधि आधारित सिकाइमा केन्द्रित गर्‍यो।

“तालिम अघिसम्म कक्षामा केवल म बोल्थें र विद्यार्थी सुन्थे। तर तालिमपछि हाम्रो संवाद बढ्यो, म पाठलाई दैनिक जीवनसँग जोड्न थालेँ, समूहगत र व्यक्तिगत कार्यलाई समावेश गरेँ, र त्यसैअनुसार पाठ योजना विकास गर्न थालेँ,” – सुस्मिता भन्छिन्।

तालिमको प्रभाव तत्काल देखियो। पहिले विद्यार्थीहरू आफ्नो विद्यालयको गृहकार्य र गतिबिधिबारे घरमा भन्न आत्मविश्वासी थिएनन्। तर अहिले उनीहरूले कक्षाकोठामा गरेका गतिविधिहरू आमाबाबुसँग साझा गर्न थालेका छन्। उनीहरू समूहगत कार्य, सिर्जनात्मक कार्यमा रमाउन थालेका छन्, जसले उनीहरूको सिकाइको परिणाममा ठुलो सुधार ल्याएको छ।

अहिले उनीहरूको शैक्षिक उपलब्धि यसप्रकार छ : नेपालीमा A, गणितमा A+, अंग्रेजीमा A+, विज्ञान र सामाजिकमा A रहेको छ ।

उनको कथा निरन्तर शिक्षक विकासले शिक्षण प्रणाली सुदृढ बनाउन कस्तो महत्व राख्छ भन्ने व्यापक सन्देश दिन्छ।

राम्रोसँग डिजाइन गरिएको एक मात्र तालिमले पनि शिक्षकलाई नयाँ रणनीतिहरू सिकाएर सिकाइको परिणामलाई महत्वपूर्ण ढंगले सुधार गर्न सक्छ।