उखुको बक्यौता रकम माग गर्दै अन्नपूर्ण चिनी मिलमा धर्ना बसेका उखु किसान । (तस्बिर : उज्यालो अभियान)
धनकौल, ३० कात्तिक – सर्लाहीको पश्चिम धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगमा उखु बेचेको पैसा माग्दै धर्नामा बसेका किसानले तत्काललाई धर्ना स्थगित गरेका छन् ।
१२ वर्ष अघिदेखि बिक्री गरेको उखुको पैसा नपाएको भन्दै किसानले गएको आइतबारदेखि उद्योगको मुलद्वारमा तालाबन्दी गरेर धर्ना सुरु गरेका थिए । स्थानीय प्रशासनले उद्योगपतिसँग छलफल गराएर बक्यौता रकम दिलाउने आवश्यक दिएपछि तत्काललाई धर्ना स्थगित गरिएको अगुवा उखु किसान रामआधार राय यादवले जानकारी दिए । यो उद्योगमा क्रसिङ सिजन २०७१÷७२ देखिकै उखुको भुक्तानी पाउन बाँकी रहेको उखु किसानको गुनासो छ ।
किसानले उद्योगबाट नौ करोड ७० लाख रुपियाँको हाराहारीमा भुक्तानी लिन बाँकी रहेको बताएका छन् । उखुको पैसा माग्दै आन्दोलित उखु किसानले उद्योगको तर्फबाट कयौं पटक आश्वासन दिएर पैसा नदिएको दुःखेसो पोखेका छन् ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले उद्योगपति शैलेन्द्र गुप्तालाई आज दिउँसो कार्यालयमा बोलाएर उखु किसानसँग छलफल गराउन लागेको छ ।
अन्नपूर्ण चिनी उद्योगको बक्यौता रकम पुराना मालिक राकेश अग्रवाल कि हालका मालिक गुप्ताले तिर्ने भन्ने विवाद सम्वन्धी मुद्दा सर्लाही जिल्ला अदालतमा विचाराधिन रहेको छ ।