logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

बाहुनी–परवानीपुर सडक शिलान्यास


  • उज्यालो अभियान

लालबन्दी, २७ कात्तिक – मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ अन्तर्गत सर्लाहीको बाहुनी–परवानिपुर सडक हिजो शिलान्यास गरिएको छ ।

चुरेभेगस्थित लालबन्दी नगरपालिका–११, बाहुनीदेखि सेतिभीर हुँदै लालबन्दी नगरपालिका–१६, परवानीपुर चोकसम्म कालोपत्रे सडक निर्माण कार्यको शिलान्यास गरिएको हो । सर्लाही क्षेत्र नं. १ (ख) की प्रदेश सभा सदस्य बेची लुङ्गेली, लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, विभिन्न वडाका वडाध्यक्ष, राजनीतिक दलका नेतालगायत भएर सडकको शिलान्यास गरेका छन् ।

बहुवर्षीय ठेक्का अन्तर्गत लालबन्दी नगरपालिका–११, बाहुनीदेखि ईश्वरपुर नगरपालिका–१२, घारिबथानसम्मको सडक कालोपत्रे गर्ने योजना छ । यो वर्ष बाहुनीदेखि परवानीपुर चोकसम्मको सडक मात्रै कालोपत्रे गर्ने गरी ठेक्का लागेको प्रदेशसभा सदस्य लुङ्गेलीले जानकारी दिईन् ।

बाहुनीदेखि परवानीपुर चोकसम्मको ६ किलोमिटर सडक कालोपत्रेका लागि १३ करोड १२ लाख ३७ हजार ५०३ रुपियाँ २३ पैसामा एस.आर. कन्ष्ट्रक्सन बागमती–१२, सर्लाहीले ठेक्का सकार गरेको छ । सडक कालोपत्रेका लागि गत असार ४ गते नै ठेक्का लागेको हो ।

ठेक्का लागेको १८ महिनाभित्र कालोपत्रेको काम गरिसक्ने गरी सम्झौता भएको पूर्वाधार विकास कार्यालय मलङ्गवाले जनाएको छ । बाहुनी–परवानीपुर चोक सडक कालोपत्रे भएपछि लालबन्दी नगरपालिकाको चुरेवर्ती क्षेत्रका स्थानीय लाभान्वित हुने छन् ।

प्रदेश सरकारकै बजेटबाट लालबन्दी १६ परवानीपुर चोकदेखि लालबन्दी १५ देउरालीसम्मको सडक गत वर्ष कालोपत्रे भएको थियो ।