logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

उखुको बक्यौता रकम माग गर्दै किसान धर्नामा


  • उज्यालो अभियान

उखुको बक्यौता रकम माग गर्दै अन्नपूर्ण चिनी मिलमा धर्ना बसेका उखु किसान । (तस्बिर : उज्यालो अभियान)

धनकौल, २३ कात्तिक – सर्लाहीको पश्चिम धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको बक्यौता रकम माग गर्दै किसानले आजदेखि धर्ना सुरु गरेका छन् ।

आर्थिक वर्ष २०७०/७१ देखिको भुक्तानी बाँकी रहेको भन्दै किसानले आन्दोलन सुरु गरेका हुन् । धनकौल गाउँपालिका–४, महिनाथपुरका किसान जीतेन्द्र महतोले अन्नपूर्ण चिनी उद्योगमा २०७४ सालमा बिक्री गरेको उखुको पैसा अझै नपाएको गुनासो गरेका छन् ।

उनले गत वर्ष उखुको मुल्य तय नहुँदै संचालन भएको उद्योगले प्रतिक्विन्टल २० रुपैयाँ भुक्तानी दिन बाँकी रहेको जानकारी दिए । छोरीको विवाह गर्न तथा अरु बेला घरखर्च टार्न उद्योगमा उखुको भुक्तानीका लागि बारम्बार धाएपनि पैसा नपाएको महतोको गुनासो छ ।

२०८० फागुन ६ गते जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा उद्योगपतिले २०८१ जेठ मसान्तसम्म भुक्तानी गर्ने प्रतिवद्धता जनाए पनि अहिलेसम्म पैसा नदिएको उखु किसानको गुनासो छ । उखु किसानका अगुवा रामआधार राय यादवले चिनी उद्योगीको बेइमानीविरुद्ध आन्दोलन सुरु गरिएको जानकारी दिए ।

आन्दोलित उखु किसानले अन्नपूर्ण चिनी उद्योगले २०७१ सालदेखिको ९ करोड ७० लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको दावी गरेका छन् । तर किसानको बक्यौता रकम पुरानो मालिक वा नयाँ मालिक कस्ले भुक्तानी गर्ने भन्ने विवाद रहेको छ ।

उद्योगका प्रशासकीय प्रमुख रमेशप्रसाद श्रीवास्तवले उद्योगले किसानलाई दिनुपर्ने पुरानो भुक्तानीको विषयमा सर्लाही जिल्ला अदालतमा दायर भएको मुद्दा विचाराधीन अवस्थामै रहेको बताए । उद्योगपति राकेश अग्रवालले स्थापना गरेको उद्योग २०७७ सालमा अर्का उद्योगपति शैलेन्द्र गुप्ताले खरिद गरेका थिए ।

गत वर्षको भुक्तानी बाँकी रहेको विषयमा सुरुमा मुल्य कायमै नहुँदै मिल संचालन गरिएको र उखुबाट रिकोभरीसमेत कम आएकाले किसानलाई भुक्तानी दिन समस्या परेको उद्योगका प्रशासकीय अधिकृत श्रीवास्तवको भनाइ छ ।