बिजेता वडा नं. ११ को टिम ।
पत्थरकोट, २२ कात्तिक – आयोजक वडा नं. १३ पत्थरकोटलाई २–० गोलले स्तब्ध पार्दै वडा नं. ११ हीरापुरले आठौं लालबन्दी नगरस्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
पत्थरकोटस्थित छेडा गाउँमा आज सम्पन्न प्रतियोगितामा वडा नं. ११ का शान्ता बलले खेलको मध्यान्तरअघि गरेको दुई गोल नै उपाधिका लागि पर्याप्त बन्यो । मध्यान्तरपछिको खेलमा सुधारिएको प्रदर्शन गरेको वडा नं. १३ गोल गर्न चुक्दा आफ्नै मैदानमा आयोजित प्रतियोगिताको उपाधि वडा नं. ११ लाई सुम्पिन बाध्य भयो ।
वडा नं. १३ यसअघि नै तीन पटकको वडाध्यक्ष कप बिजेता बनिसकेको वडा नं. १६ परवानीपुरलाई टाइबे्रकरमा पराजित गरी र वडा नं. ११ भने वडा नं. ३ जब्दीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । प्रतियोगिताको बिजेता वडा नं. ११ ले ट्रफीसहित नगद एक लाख ११ हजार १११ रुपियाँ पुरस्कार प्राप्त गरेको छ ।
आयोजक वडा नं. १३ ले भने ५५ हजार ५५५ रुपियाँमा चित्त बुझाउनुपर्यो ।
यस्तै प्रतियोगितामा तेस्रो भएको वडा नं. ३ ले ३३ हजार ३३३ रुपियाँ प्राप्त गरेको छ ।
प्रतियोगिताको बिजेता, उपबिजेत र तेस्रो भएको वडालाई पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, लालबन्दी १३ का वडाध्यक्ष शिवकृष्ण वैद्यलगायत भएर पुरस्कार वितरण गरेका छन् ।