रामनगर, २१ कात्तिक – सर्लाहीको रामनगर गाउँपालिका–१, खैर्वामा दुई दिनअघि खोलाले बगाएर बेपत्ता बालकको आज बिहान शव फेला परेको छ ।
खैर्वा गाउँ बस्ने मनोज यादवको छोरा १४ वर्षीय आशिक यादव कात्तिक पूर्णिमाको अवसरमा बागमती नदीमा नुहाउन जाँदा बुधबार बिहानदेखि खोलाले बगाएर बेपत्ता भएका थिए । बालकलाई आज बिहान सर्लाही र रौतहटको सीमास्थित रौतहटको दुर्गा भगवती गाउँपालिका–२, बागमती नदी किनारमा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायो ।
खोलाले बगाएर बेपत्ता बालकको खोजीका लागि स्थानीयवासी, प्रहरी र महोत्तरीको बर्दिवासस्थित सशस्त्र प्रहरीको बाहिनीबाट गोताखोर टोली परिचालन भएको थियो । दुई दिन खोजी गरेपछि आज बिहान सबेरै नदी किनारमा तैरिरहेको अवस्थामा बालकको शव फेला परेको हो ।
सर्लाहीमा तीन साताअघि मनुष्मारा खोलाले बगाएर बेपत्ता धनकौल गाउँपालिका–५, हरकठवाका दिनकर साहकी छोरी ११ वर्षीया सोनीकुमारी पाँच दिनपछि मृत फेला पर्नुभएको थियो ।