सर्लाहीको पर्सा गाउँपालिकास्थित पर्सा बजार ।
गोडैता, २१ कात्तिक – सर्लाहीको सीमावर्ती क्षेत्रका स्थानीय प्रमुख पर्व छठ मनाएर मजदुरी गर्न पुनः भारततर्फ फर्किएका छन् ।
सीमावर्ती क्षेत्रका अधिकांश स्थानीय कृषि र उद्योग क्षेत्रमा मजदुरी गर्न भारतको विभिन्न राज्यमा पुग्ने गरेका छन् । सीमावर्ती गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले आफ्नो पालिकाबाट अधिकांश मानिस मजदुरीका लागि भारततर्फ लागिसकेका जानकारी दिए ।
नगरप्रमुख यादवका अनुसार यहाँबाट धेरैजसो भारतको सुरत भन्ने ठाउँमा मजदुरीका लागि पुग्ने गरेका छन् । त्यहाँ अहिले धान काट्नेसहितको काम गर्ने चटारो छ ।
सीमावर्ती क्षेत्रको विष्णु, गोडैता, बलरा, ब्रह्मपुरी, पर्सालगायत पालिकाबाट युवा र पाका उमेरका व्यक्तिसमेत मजदुरी गर्न भारत जाने गरेका छन् । नेपाली मजदुरलाई लिन नेपाल–भारत सीमासम्म भारतीय बस आउने गरेका गोडैताका नगरप्रमुख यादवले बताए ।
आयस्तर कमजोर रहेका सीमावर्ती क्षेत्रका स्थानीयले भारतमा मजदुरी गरेर परिवारको गुजारा धान्ने र छोराछोरी पढाउने गरेका छन् । पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरका वडाध्यक्ष राकेश रामले सीमावर्ती क्षेत्रका स्थानीय आयआर्जन गर्नदेखि हाटबजार गर्न, औषधि उपचार गर्न भारतको विभिन्न राज्यमा पुग्ने गरेको बताए ।
कतिपय मानिस आफ्नो धान भित्र्याउन घरमै बसे पनि धेरैजसो भने छठ मनाउने बित्तिकै मजदुरी गर्न भारत गइसकेका वडाध्यक्ष रामको भनाइ छ । यहाँ कृषिको काम केही दिन मात्रै पाइने र लामो समय काम गर्न उद्योग, कलकारखाना नरहेकाले स्थानीय प्रायः हरेक वर्ष चाडपर्व मनाएपछि यसैगरी भारततर्फ जाने उनले बताए ।