रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाएर तेस्रो स्थानको प्रतिस्पर्धामा सहभागी नभएको लालबन्दी १६ को टिम ।
पत्थरकोट, २० कात्तिक – लालबन्दी नगरपालिका १३ पत्थरकोट छेडामा जारी आठौं नगरस्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगितामा वडा नं. ३ जब्दीलाई तेस्रो भएको घोषणा गरिएको छ ।
हिजो आयोजक वडा नं. १३ पत्थरकोटसँग भएको सेमिफाइनल खेलमा रेफ्रीले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै वडा नं. १६ ले आज तेस्रो स्थानको प्रतिस्पर्धाका लागि आयोजित खेलमा सहभागी नै भएन् । वडा नं. १६ हिजो आयोजक वडा नं. १३ सँग टाइबे्रकरमा ४–२ ले पराजित भएको थियो ।
निर्धारित समयको खेलमा वडा नं. १६ ले गरेको गोललाई रेफ्रीले अफसाइड दिएपछि वडा नं. १६ ले असन्तुष्ट जनाएको छ । उक्त गोललाई मान्यता दिनुपर्ने वडा नं. १६ को अडानपछि हिजो नै सेमिफाइनल खेल केही समय रोकिन पुगेको थियो । तर पछि आयोजकले सम्झाइबुझाइ गरेपछि खेलाडी बाँकी खेल खेल्न राझी भए र दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जसमा वडा नं. १६ अभागी रहँदै आयोजकसँग ४–२ ले स्तब्ध हुन पुग्यो ।
लालबन्दी १६ का वडाध्यक्ष गणेशबहादुर थापाले रेफ्रीको निर्णयप्रति चित्त दुखाएर आफ्नो वडाका खेलाडी तेस्रो स्थानका लागि आयोजित खेलमा सहभागी नभएको स्वीकार गरेका छन् । खेलमा हार्ने, जित्ने भन्दा पनि पारदर्शी ढंगले नखेलाइँदा चित्त दुखेको वडाध्यक्ष थापाको भनाइ छ ।
वडा नं. १६ ले यसअघि ३ पटक वडाध्यक्षकपको उपाधि जितिसकेको थियो । आजको खेलमा वडा नं. १६ सहभागी नभएपछि आयोजकले वडा नं. ३ लाई तेस्रो भएको घोषणा गरेको छ । उसले अब ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्ने छ ।
वडा नं. ३ हिजो भएको सेमिफाइनल खेलमा वडा नं. ११ हिरापुरसँग पराजित भएको थियो । प्रतियोगिताको उपाधिका लागि अब पर्सी शनिबार वडा नं. ११ र आयोजक वडा नं. १३ ले खेल्ने छन् ।
बिजेताले १ लाख ११ हजार १११ रुपैयाँ र उपबिजेताले ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्ने लालबन्दी १३ का वडाध्यक्ष शिवकृष्ण वैद्यले जानकारी दिए । उनका अनुसार फाइनल खेलअघि भोली हरिवन र लालबन्दी भेट्रानबिचको खेल आयोजना गरिएको छ ।
वडाध्यक्ष वैद्यले आज आयोजित तेस्रो स्थानको प्रतिस्पर्धामा वडा नं. १६ सहभागी नहुँदा खल्लो महसुस भएको गुनासो गरेका छन् ।