मनिषबहादुर बुढाथोकी/लालबन्दी, ११ कात्तिक – केही दिनदेखि बजारमा पर्याप्त तरकारी नभित्रिँदा अभाव सिर्जना भएको छ ।
किसान चाडपर्व मनाउन ब्यस्त रहेकाले तरकारी उत्पादनमा व्यापक कमी आएको छ । खेतबारीमा फलेको तरकारी पनि किसानले बजार ल्याउन पाएका छैनन् ।
तिहार लगत्तै छठपर्व सुरु भएकाले पनि किसानलाई तरकारी भित्र्याउनसमेत समस्या परेको हो । मधेशका प्रत्येक हाटबजारमा अहिले हरियो तरकारीको चरम अभाव छ भने भएका तरकारीको मुल्य आकासिएको छ ।
मधेश प्रदेशकै सबैभन्दा ठुलो लालबन्दी थोक तरकारी बजारमा केही दिनदेखि किसानले कम परिमाणमा तरकारी ल्याइरहेका बजार समितिले जनाएको छ । मध्य असोजको वर्षापछि तरकारी बालीसमेत डुबानमा परेर उत्पादन घटिरहेको अवस्थामा लगत्तै चाडपर्व सुरु भएपछि किसानले पर्याप्त तरकारी फलाएका छैनन् ।
लालबन्दी थोक तरकारी बजारको रुपमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले अझै दुई/तीन दिन तरकारीको अभाव नै हुने जानकारी दिएका छन् । उनले उज्यालो अभियानसँग भने “अझै दुई/चार दिन त तरकारीको अभाव यस्तै रहन्छ तर छठ सकिएपछि बजारमा साबिककै झैँ तरकारी आउन थालिहाल्छ, समस्या हुँदैन् ।”
बजारमा किसानले ल्याएको तरकारी अहिले असाध्य महँगो छ । जसका कारण उपभोक्ता मारमा परेका छन् ।
त्यसै महँगो रहेको तरकारी बिचौलिया हुँदै उपभोक्तासम्म पुग्दा झन दोब्बर नै मुल्य बढ्ने गरेको छ । “किसानले मुल्य पाएको त राम्रो हो तर यहाँ बिचौलियो धेरै हाबी छन्, लालबन्दी ७ का होटल व्यवसायी बैकुण्ठ सापकोटाले, “उपभोक्ता र किसानलाई जे जति मार परेपनि हेर्ने र अनुगमन गर्नेवाला कोही छैनन् ।”
मधेश क्षेत्रमा अहिले बोडी, परवल, सिमी, भिन्डी, भान्टालगायतका तरकारी उत्पादन भइरहेका छन् । यि सबैजसो तरकारीको थोक मुल्य नै १०० रुपियाँ भन्दामाथि रहेको छ ।
यहाँका उपभोक्ता अहिले प्रत्येकजसो तरकारी प्रतिकेजी १२० देखि १५० रुपियाँसम्म हालेर खरिद गर्न बाध्य छन् । लालबन्दी थोक तरकारी बजारका व्यापारी तोरनबहादुर मगरले किसानसँग आफूहरुले नै महँगोमा तरकारी खरिद गरिरहेको बताएका छन् ।
ग्रामीण भेगका किसानले आफै तरकारी उत्पादन गर्ने हुँदा समस्या नरहे पनि बजार तथा सहरी क्षेत्रमा तरकारी असाध्य महँगो हुँदा उपभोक्ता मारमा परेका छन् । किसानले नै तरकारी कम ल्याउँदा लालबन्दी बजारबाट काडमाडौंसहित देशका विभिन्न ठाउँमा निकासी हुने तरकारीको परिमाण तिहारदेखि नै घटिरहेको छ ।
बजारमा स्थानीय किसानले उत्पादन गरेको कोभी र बन्दा प्रशस्त आउने सिजन भएपछि मात्रै तरकारीको भाऊ घट्ने अवस्था देखिन्छ । चन्द्रनगर गाउँपालिका–३, कोइरीयाही टोलका किसान धनिपत महतोले खेतमा काउली र बन्दा उत्पादन भइरहेको जानकारी दिए ।
आफूहरुले तरकारी प्रशस्त फलाएपछि भाऊ नै नपाउने अवस्था रहने महतोको दुःखेसो छ । उनले भने “पोहोर साल हामीले फलाएको काउली पाँच रुपियाँ किलोमा पनि बिकेन तर अहिले यही काउली बजारमा १५० रुपियाँ केजीसम्म बिक्री भइरहेको छ ।”