logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

आजसम्म पनि तिहारको किनमेल गर्नेको भीड, फलफूल धेरै बिक्यो


  • उज्यालो अभियान

मनिषबहादुर बुढाथोकी/लालबन्दी, ०५ कात्तिक – सर्लाहीका हाटबजारमा आज साँझसम्म पनि तिहारको चहलपहल देखिएको छ ।

तिहारको भाइटीकामा प्रयोग हुने सरसामग्रीको आज दिनभर नै अत्यधिक कारोवार भयो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र लालबन्दी बजारमा दिनभर नै मानिसको अत्यधिक चाप देखिन्थ्यो ।

नवलपुर, हरिवन, बयलवास, बरहथवालगायत अन्य बजारमा पनि आज दिनभर नै तिहारको चहलपहल देखिएको थियो । बजारमा भाइमसलासहित फलफूल, कपडा, खाद्यान्न, फूल, फूलका मालालगायतको राम्रो व्यापार भएको हो ।

कोसेलीको रुपमा समेत प्रयोग गरिने भएकाले फलफूलको अत्यधिक कारोवार भइरहेको छ । ग्रामीण तथा सहरी सबै क्षेत्रमा तिहारको चहलपहल देखिन्छ ।

झिलिमिली बत्ती र मैनवत्ती जताततै बालिएकाले उज्यालोमय बनेको छ । तिहारका लागि धेरै मानिस घरगाउँ आएकाले चहलपहल बढेको छ ।

आजसम्म पनि काठमाडौं उपत्यकासहित विभिन्न सहरबजारबाट घर आउनेको सवारी साधनमा अत्यधिक भीडभाड देखियो । यहाँबाट काठमाडौंसहित अन्य ठाउँमा गएर तिहार मनाउनेको पनि उत्तिकै चलपहल देखिन्छ ।