logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

महाकालीलाई प्रदेशस्तरीय फुटबलको उपाधि


  • उज्यालो अभियान

बयलवास, ०५ कात्तिक – सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलवासमा आयोजित प्रदेशस्तरीय खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि महाकाली युवा क्लब लालबन्दी १७ रानिगन्जले जितेको छ ।

बेङ्गाडावर युवा क्लब धनुषामाथि १–० को सङ्घर्षपूर्ण जित निकाल्दै महाकालीले उपाधि उचालेको हो । महाकालीको जितमा खेलको पहिलो हाफको अतिरिक्त समयमा अङ्कित मगरले गरेको गोल निर्णायक बन्यो ।

जितसँगै महाकालीले प्रतियोगिताको ट्रफीसहित नगद ५१ हजार ५५५ रुपियाँ प्राप्त गरेको छ । उपबिजेता बेङ्गाडावरले भने ३१ हजार ५५५ रुपियाँमा चित्त बुझायो । बिजेता र उपबिजेता टिमका लागि नगद पुरस्कार ईश्वरपुर नगरपालिका–३, निवासी सुनिता आचार्यले उपलब्ध गराएको आयोजक धनजोरटोल जनकल्याण युवा सङ्घ ईश्वरपुर ६ ले जनाएको छ ।

फुटबल प्रतियोगिताको समापनको अवसरमा पूर्व राष्ट्रिय खेलाडीहरु फुटबलका आदित्य चौधरी, भलिबलका रामाशङ्कर चौधरी, कराँतेका ध्वजमान मोक्तान, कबड्डीका लक्ष्मण महतो, जुडोका रमेश बस्नेतसहित साहित्य र विज्ञानमा विशिष्ठ योगदान गरेको भन्दै सरोजप्रसाद साहलाई प्रमाणपत्रसहित सम्मान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको बिजेता, उपबिजेता, उत्कृष्ट खेलाडी र सम्मानित भएका पूर्व राष्ट्रिय खेलाडीलाई मधेश प्रदेशका प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक (डिआइजी) गोविन्द थपलिया, ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोजकुमार आचार्यलगायत भएर सम्मान गरेका छन् ।