मलंगवा, ०४ कात्तिक – तिहार र छठ पर्वलाई लक्षित गरी सर्लाहीमा नेपाली सेनासहितको संयुक्त गस्ती परिचालन गरिएको छ ।
प्रमुख दुई पर्वमा शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितको संयुक्त गस्ती परिचालन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिए । जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम सदरमुकाम मलङ्गवा बजारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त गस्ती सुरु गरिसकेका छन् ।
जिल्लाको सुरक्षा संवेदनशील र सुरक्षा जोखिम देखिएका क्षेत्रमा नियमित निगरानी हुने उनले बताए । प्रहरी, सशस्त्र र सेनासहित तीनवटै सुरक्षा प्रमुखको नेतृत्व रहने गरी चाडपर्व लक्षित सुरक्षाकर्मी परिचालन भइरहेका सिडिओ श्रेष्ठको भनाइ छ ।
अर्को व्यक्ति, समुदाय तथा धर्मलाई कुनै प्रकारको असर नपर्ने गरी र समाजमा शान्ति सुरक्षा, अमनचयन हुने गरी पर्व मनाउन आग्रह गरिएको हो ।