लालबन्दी, ३१ असोज – सर्लाहीका हाटबजारमा दीपावली र छठको सरसामग्री किन्नेको भीड बढ्न थालेको छ ।
यहाँको लालबन्दी, नवलपुर, हरिवन, बरहथवा, बयलवास, हरिपुर, मलंगवालगायत बजारमा दीपावली र छठका लागि विभिन्न सरसामग्री किन्नेको चहलपहल देखिएको हो । तर यहाँको बजारभन्दा सीमापारी भारतीय बजारमा अझ बढी मानिस किनमेलका लागि पुगिरहेका व्यापारीले बताएका छन् ।
सीमावर्ती क्षेत्रका स्थानीय त प्रायः किनमेलका लागि भारतीय बजार नै पुग्ने गरेका छन् । सर्लाहीमा पूर्वपश्चिम राजमार्गक्षेत्रको सबैभन्दा ठुलो बजारको रुपमा रहेको लालबन्दी बजारमा अघिल्ला केही बजारदेखि नै दीपावली र छठको सरसामग्री राम्रो बिक्री भइरहेको देखिन्छ ।
हिजो बिहीबार हाटबजार लाग्ने दिन यहाँ हजारौँ मानिस आएर भाइमसलासहित तिहारका सरसामग्री तथा छठमा प्रयोग हुने चिजवस्तु किनेर लगेका व्यापारीले बताएका छन् । यो वर्षको तिहार अन्तर्गत ३ गते लक्ष्मीपूजा गरिँदै छ । छठ पर्व भने कात्तिक १० गते परेको छ ।
दुई प्रमुख चाडपर्व नजिकिएसँगै सर्लाहीका स्थानीय अहिले घर, आगन सरसफाईको काममा पनि उत्तिकै व्यस्त छन् । दशैँ मनाएपछि केही समय सुनसान बनेको यहाँको ग्रामीण क्षेत्रमा अब तीहर र छठमा पुनः चलपहल बढ्ने गर्छ ।
छठ पर्व मनाउनकै लागि सर्लाहीको दक्षिाणी बेल्टबाट मजदुरीका लागि भारतको विभिन्न स्थानमा पुगेकाहरु पर्व मनाउन घर फर्किनेक्रम जारी रहेको हाम्रा संवाददाताले जनाएका छन् ।