logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बागमतीमा सामुदायिक आँखा उपचार केन्द्र संचालन


  • उज्यालो अभियान

बागमती, ३० असोज – सर्लाहीको बागमतीमा आधुनिक किसिमको सामुदायिक आँखा केन्द्र संचालनमा ल्याइएको छ ।

बागमती नगरपालिका–१२ स्थित स्वास्थ्य चौकी कर्मैयामा अत्याधुनिक सुविधायुक्त आँखा उपचार केन्द्र संचालन गरिएको हो । आँखा उपचार केन्द्रको आज कार्यवाहक नगरप्रमुख कृष्णकुमार लामा र भरतकुमार थापालगायत भएर उद्घाटन गरेका हुन् ।

यस क्षेत्रमा आँखाका बिरामीलाई सेवा प्रदान गर्ने उद्देश्यसहित क्योर ब्लाइन्डनेस परियोजनाको सहयोगमा तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्रको उद्घाटन गरिएको बागमती नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख पदमबहादुर रायमाझीले जानकारी दिए । १ करोड ३० लाख रुपैयाँ लागतमा संचालनमा ल्याइएको आँखा उपचार केन्द्रमा कम्प्युटर विधीबाट आँखा जाँच, चश्मा वितरण, मोतियाविन्दुको शल्यक्रियालगायतका सेवा प्रदान गरिने सहयोगी संस्थाकी नेपाल डाइरेक्टर पुनम भण्डारीले बताईन् ।

आँखा उपचार केन्द्र संचालन गर्न स्वास्थ्य चौकी कर्मैयामा एउटा ओपिडी र चश्मा पसल तथा एउटा शल्यक्रिया कोठा प्रदान गरिएको छ । आँखा उपचार केन्द्रको उद्घाटनकै अवसरमा ३६१ जना मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रियासमेत गरिएको छ ।

बागमती नगरपालिकाको अगुवाईमा सर्लाही र रौतहटको विभिन्न स्थानमा राखिएको आँखा शिविरमा एक हजार ७०४ जनाको आँखा जाँच गर्दा ३६१ जनामा मोतियाविन्दु देखा परेको थियो ।