logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

शिक्षकलाई समावेशी शिक्षा र साक्षरता सीप तालिम प्रदान


  • उज्यालो अभियान

वुद्धबहादुर विश्वकर्मा/लालबन्दी, ३० असोज – ग्रामीण नारी उत्थान संघको आयोजना तथा सार्क विकास कोष (एस डि एफ) र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सञ्चालन गरिएको “समावेशी शिक्षा, प्रारम्भिक साक्षरता तथा गणितीय सीप सम्बन्धी ७ दिने तालिम” सर्लाहीको लालबन्दीमा सम्पन्न भएको छ ।

बरहथवा र कबिलासी नगरपालिकाका ५० जना शिक्षकहरूका लागि तालिम असोज २४ देखि संचालन गरिएको तालिमको आज समापन गरिएको हो । समापन समारोहका प्रमुख अतिथि कबिलासी नगरपालिकाका उपप्रमुख पुनम कर्णले बालविकास केन्द्रका शिक्षकहरू नै बालबालिकाको भविष्य निर्माणका अभियन्ता भएकाले समावेशी सिकाइ वातावरण निर्माणमा जोड दिईन् ।

तालिमको सहजीकरण बालविकास राष्ट्रिय सहजकर्ता रीता तामाङ तथा राष्ट्रिय बालविकास सेवा (सेतो गुराँस) का रीता थापा र दुर्गा सिवाकोटीले गरेका थिए । सहजकर्ता रीता तामाङले बालविकासका सिद्धान्तहरू व्यवहारमा उतार्न शिक्षकहरूलाई खेल, गीत, कथा र कलात्मक गतिविधिबाट सिकाइएको र यसले बालबालिकाको समग्र विकासमा योगदान पुर्याउने बताईन् ।

समापन कार्यक्रममा बरहथवा नगरपालिकाबाट तालिममा सहभागी शिक्षक रेखा पासवानले यो तालिमले सजिलो सिकाइ वातावरणमा व्यवहारिक ज्ञान दिएको बताए । गुणस्तरीय समावेशी प्रारम्भिक बाल विकास तथा शिक्षाका लागि साझेदारी परियोजना व्यवस्थापक पुष्कर काफ्लेका अनुसार, यो परियोजना बरहथवा, कबिलासी र हरिपुर नगरपालिका तथा महोत्तरीका मनरा शिस्वा, बलवा र पिपरा गाउँपालिका तथा संचालित छ ।

परियोजनाले प्रारम्भिक बालविकास केन्द्रहरूमा नयाँ कक्षाकोठा निर्माण, सामग्री सहयोग, शिक्षक क्षमता विकास र अपाङ्गता भएका बालबालिकाका लागि समावेशी सहयोगमा जोड दिएको छ ।

तालिमको ग्रामीण नारी उत्थान संघकी अध्यक्ष गोमादेवी न्यौपानेको अध्यक्षतामा समापन गरिएको हो ।