logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सिडिओ र एसपीसँग आग्रह : चोरी रोकिदिनुस्


  • उज्यालो अभियान

लालबन्दी, २९ असोज – लालबन्दीका स्थानीयले चोरीको घटना वृद्धि भएको र लागुऔषधको ओसारपसार बढेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मलंगवाले आज लालबन्दीस्थित डुमडुमे मन्दिर अगाडि गरेको नागरिक सुनुवाई कार्यक्रमका सहभागीले यस्तो चिन्ता व्यक्त गरेका हुन् । अधिकांश सहभागीले लालबन्दी क्षेत्रमा पछिल्लो समय चोरीको घटना असाध्य बढेको भन्दै प्रहरीले सक्रियता अझ बढ्नुपर्ने र भित्री बाटाघाटा तथा बस्तीमा गस्ती बढाउनुपर्ने जोड दिए ।

लालबन्दी नगरपालिका–७, का देविबन्धु थापाले असोज २१ गते आफ्नो घरबाट एक लाख २५ हजार रुपियाँ चोरी भएपनि अहिलेसम्म केही पत्ता नलागेको गुनासो गरे । थापाले लालबन्दी बजारको मुख्य स्थानमै रहेको डुमडुमे धर्मशाला परिसर अहिले दुव्र्यसनीस्थलको रुपमा परिणत भएकाले यसतर्फ प्रहरीको ध्यानाकर्षण गराएका छन् ।

लालबन्दी १ नवलपुरका उमेश कुशवाहाले पटक पटक चोरीका घटना हुँदा पनि नियन्त्रण हुन नसकेको बताए । उनले प्रहरी प्रशासनको अनुभूति नै हुन नपाएको गुनासो पोखे ।

लायन्स क्लब लालबन्दीका पूर्व अध्यक्ष एवं लालबन्दी ७ का स्थानीय राजकुमार न्यौपानेले आफ्नो गाउँमा एकैदिन तीन घरमा चोरी भएको भन्दै पेट्रोलिङ बढाउन प्रहरीलाई सुझाव दिए । उनले चर्को बाजामा डिजे बजाउन नरोकिएकोप्रति आपत्ति जनाएका छन् ।

लालबन्दी ७ बजारका व्यापारी सन्तोषकुमार साहले राति २ बजेसम्म मोवाइल चलाएर बस्ने तर समाजमा बढेको चोरी के–कसरी नियन्त्रण गर्ने भन्ने विषयमा छलफल गर्न कोही पनि अग्रसर नरहेको बताए ।

हेल्पिङ होमका बिक्रम थापाले मानसिक स्वास्थ्य समस्या र लागुऔषधको बढ्दो सेवनबारे सचेतना फैलाउन जरुरी रहेको बताए । उनले यस विषयमा लालबन्दी नगरपालिका फिटिक्कै गम्भीर नदेखिएको आरोप लगाए ।

लालबन्दी ६ का राजन तिमल्सिनाले लालबन्दी प्रहरीले जेनजी आन्दोलनमा कार्यालय जोगाएकोमा धन्यवाद दिए । तर राष्ट्रिय अनुसन्धानका जिल्लास्थित कर्मचारीले आन्दोलनको विषयमा सूरुमै किन सूचना लिन सकेनन भनेर प्रश्न गरे ।

लालबन्दी ५ का सुदर्शन अधिकारीले प्रहरी र जनप्रतिनिधि कार्यालयमा मात्रै नबसेर फिल्डमा खटिएर काम गर्न आग्रह गरे । उनले बाटो बन्ने वित्तिकै विकास नठानेर सामाजिक चेतना पनि जागृत गर्नुपर्ने तर्क गरे ।

उद्योग वाणिज्य संघ लालबन्दीका पूर्व अध्यक्ष दीपेन्द्र बलम्पाकीले लागुऔषधका कारण चोरी र अपराधका घटनासँगै युवा पुस्ताको जीवन नै बर्बाद बनिरहेकोप्रति सबै गम्भीर हुनुपर्ने समय आएको बताए ।

लालबन्दी नगरपालिका–१, नवलपुरकी मन्जुकुमारी साहले लालबन्दी १ र २ मा चोरीसँगै झैझगडा र कुटपिटको घटना बढिरहेको भन्दै प्रहरीको ध्यानाकर्षण गराईन् ।

उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष महेश महतोले व्यक्तिका घरसँगै अत्यधिक मात्रामा मोटरसाइकल चोरी भएको भन्दै ध्यानाकर्षण गराएका छन् ।

सामाजिक अगुवा लालबन्दी ६ निवासी बलराम पोखरेलले भारतीय गाडीले पनि अपराध बढाएको र राजस्व छली गरिरहेकाले रोक्न माग राखेका छन् ।

एनएमबि बैङ्क लालबन्दी शाखाका प्रवन्धक अरुण आचार्यले घरमा न्यून पैसा राख्ने र गरगहना बैङ्कमा लगेर राख्ने बानीको विकास गर्न सचेतना जगाउन आवश्यक रहेको बताए ।

सहभागीले प्रहरी कार्यालयमा अगुवा लिएर गएपछि मात्रै पीडितको गुनासो सुनुवाई गर्ने गरेको, राष्ट्रिय परिचय पत्र बनाउन हैरानी खेप्नु परेको, लालबन्दी बजार क्षेत्रमा सवारी पार्किङ व्यवस्थित हुन नसकेको, ट्राफिक नियमको पालना नभएको, अवैध समान भित्रिँदा सही ढङ्गले व्यापार गर्ने व्यापारी मारमा परेकोे, बजारका होटलमा यौनजन्य क्रियाकलाप बढेको, नगरपालिकाको राजस्व महँगो भएको जस्ता गुनासो राखेका छन् ।

लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले लागुऔषधको प्रयोग नियन्त्रण गर्न नगरको तर्फबाट सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको दावी गरेका छन् । उनले यसको प्रयोग घटाउन र अहिले बढेको चोरीका घटना नियन्त्रण गर्न प्रहरीसँग समन्वय गर्न तयार नै रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले सिमित स्रोत, साधनमा रहेर काम गरिरहेको प्रहरीलाई नागरिक समाज सक्रिय भएर साथ नदिएसम्म चोरी र लागुऔषधको ओसारपसार नियन्त्रण गर्न कठीन रहेको बताए । सिडिओ श्रेष्ठले यस्तो बेला नागरिक समाज, टोल विकास संस्था, सामुदायिक सङ्घसंस्थालाई चोरी रोक्ने कार्यमा समन्वयात्मक भूमिका निर्वाह गरिदिन आग्रह गरे ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले चोरी रोक्न र लागुऔषधको ओसारपसार तथा सेवन नियन्त्रण गर्न अधिकतम प्रयास गरिरहेको जानकारी दिए । एसपी खड्काले बिना बर्दीको प्रहरी भनिने नागरिकले प्रहरीलाई साथ, सहयोगसहित निगरानी नगरे आफूहरुले मात्रै केही गर्न नसक्ने बताए ।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले संचालन गरेको कार्यक्रममा कालिध्वज गण पाँचकुमारीका प्रमुख सेनानी उमेश खड्का, राष्ट्रिय अनुसन्धान सर्लाहीका प्रमुख सन्जयकुमार मण्डल, लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, हरिवन बेशका सशस्त्र प्रहरीका डिएसपी एकराज बुर्लाकोटी, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख रजोस घिमिरेलगायतको आतिथ्यता रहेको थियो ।