चिताइन, २४ असोज – सर्लाहीको हरिपुर नगरपालिका–७, चिताइन खेल मैदानमा आजबाट नगरस्तरीय दोस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ७ बिजयी भएको हरिपुर ७ का वडाध्यक्ष मनोजकुमार चौधरीले जानकारी दिए । वडा नं. ७ ले वडा नं. ६ माथि ४–० को सहज जित दर्ता गराएको हो ।
हरिपुर नगरपालिकाको सहयोगमा लक्ष्मीनाथ यूवा क्बल चिताइनले आयोजना गरेको मेयर कप असोज ३१ गतेसम्म संचालन हुने आयोजक क्लबका अध्यक्ष नरहरि धामीले बताए । उनका अनुसार प्रतियोगिताको आज दिउँसो संविधान सभा सदस्य रामचन्द्र चौधरी र हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियारले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

प्रतियोगितामा नगरभित्रका ९ वटै वडाले सहभागिता जनाएका छन् । बिजेता वडालाई ट्रफीसहित नगद १ लाख र उपबिजेतालाई ५० हजार नगद पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष धामीले बताए ।
प्रतियोगिता समापनको दिन फाइनल खेलभन्दा एक घण्टाअघि हरिपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र हरिपुर नगरपालिकाका पुराना फुटबल खेलाडीबिच मैत्रीपूर्ण खेल हुने हरिपुर ७ का वडाध्यक्ष चौधरीले उज्यालो अभियानसँग बताएका छन् ।
