logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

पहिरो खस्दा कर्मैया–पिपलमाडी सडक १ हप्तादेखि अवरुद्ध


  • उज्यालो अभियान

कर्मैया–पिपलमाडी सडकमा खसेको पहिरो । (तस्बीर : उज्यालो अभियान)

बागमती, २४ असोज – पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमतीबाट मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको झनझनेसम्म पुग्ने कर्मैया–पिपलमाडी सडक एक सातादेखि अवरुद्ध रहेको छ ।

सडक अवरुद्ध हुँदा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका र मरिण गाउँपालिकाका स्थानीय मारमा परेका छन् । यि दुई पालिकाका वासिन्दा कर्मैया–पिपलमाडी सडक भएर सर्लाहीको बागमती र हरिवन बजारमा दैनिक उपभोग्य वस्तु किनमेलका आउने गरेका छन् ।

असोज १८ गतेको भीषण वर्षापछि सर्लाहीको बागमती नगरपालिका–११, कर्मैयास्थित परेवा भीरदेखि वुद्धशान्ति तपोवनसम्म ठाउँठाउँमा ठुलो पहिरो खसेकाले सडक अवरुद्ध रहेको बस व्यवसायी किस्मतराज मैनालीले उज्यालो अभियानसँग बताए । कर्मैया–पिपलमाडी सडक भएरै मकवानपुरको बागमती गाउँपालिकाका स्थानीय र त्यहाँ कार्यरत कर्मचारीसमेत आउजाउ गर्ने गरेका छन् ।

कर्मैया–पिपलमाडी सडक खण्डको बस भाडा २५० भएपनि अहिले यो सडक अवरुद्ध रहेकाले सिन्धुली वा हेटौंडा भएर आवतजावत गर्नुपर्दा ७०० रुपियाँ भाडा तिर्नुपरेको स्थानीयले गुनासो गरेका छन् । सडकमा पहिरो खसेर गाडी चल्न नसक्दा बिरामीलाई उपचारका लागि झोलुङ्गोमा हालेर ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ ।

बस व्यवसायी मैनालीका अनुसार यही सडक भएर दैनिक २०/२५ वटा मोटरसाइकलमा सर्लाही र रौतहटका माछा व्यापारीले सिन्धुली र मकवानपुरको विभिन्न भेगमा माछा लगेर बिक्री गर्ने गरेका छन् । एक सातादेखि सडक नै अवरुद्ध बनेपछि सबै क्षेत्र प्रभावित बनेको मैनालीको भनाइ छ ।

मधेश र बागमती प्रदेशलाई जोड्ने ‘लिङ्क रोड’ समेत भनिने कर्मैया–पिपलमाडी सडकको १६ किलोमिटरमध्ये सर्लाही खण्डमा डेढ किलोमिटर मात्र पर्छ । तर सर्लाही खण्डमै अत्यन्त जोखिमपूर्ण चुरेपहाडको डेढ किलोमिटरमा यसरी बारम्बार पहिरो खसेर समस्या आउने गरेको बस व्यवसायी मैनालीको गुनासो छ ।

तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र अर्थमन्त्री डा. बाबुराम भट्टराईको कार्यकालमा विनियोजित १० लाख रुपियाँबाट सडकको रेखाङ्कलन गरी स्वीस नियोगले ग्राभेल गरेपछि यो सडकमा गाडी चल्न सुरु भएको थियो । सर्लाही खण्डको डेढ किलोमिटर सडक कालोपत्रे गरिदिन बागमती नगरपालिकालाई बारम्बार आग्रह गरेपनि सुनुवाई नै नभएको यातायात व्यवसायीले दुःखेसो पोखेका छन् ।

४ वर्षअघि नगरपालिका कार्यालयले बाटोमा ग्राभेल भर्ने काम गरेको थियो । एक सातादेखि अवरुद्ध राजमार्ग खुलाउन कसैले चासो नदिएपछि बस व्यवसायी आफैले एक्स्काभेटर लगाएर पहिरो पन्छाउने काम सुरु गरेका छन् ।

एक छेउबाट पहिरो पन्छाएपछि मोटरसाइकल र साना सवारी मुस्किलले सञ्चालन हुन थालेपनि यात्रुबाहक बस सञ्चालन हुन भने अझै दुई/तीन दिन लाग्ने व्यवसायीले बताएका छन् ।