मलंगवा, २३ असोज – जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोककुमार यादव एक लाख ६० हजार धरौटी बुझाएर रिहा भएका छन् ।
पूर्व मधेश प्रदेशसभा सदस्यसमेत रहेका यादवलाई सर्लाही प्रहरीले भदौ २५ गते पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा भएकै बेला आमाको निधन भएपछि यादवलाई असोज ३ गते आमाको काजकिरिया गर्न भनी प्रहरीले छाडेको थियो ।
आमाको काजकिरिया सकेर आज आफै सर्लाही जिल्ला अदालत मलङ्गवामा उपस्थित हुनुभएका यादवलाई न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले एक लाख ६० हजार रुपियाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । यादवसँग राजद्रोहको मुद्दामा एक लाख, सार्वजनिक सेवा अवरोध गरेको र आपराधिक उपद्रव मुद्दामा ३०/३० हजार गरी एक लाख ६० हजार रुपियाँ धरौटी माग भएको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्रीले उज्यालो अभियानसँग बताए ।
अदालतले धरौटीमा छाडेपछि यादवले सञ्चारकर्मीसँग कुरा गर्दै अन्याय, अत्याचार र भ्रष्टाचारको विरोधमा बोल्दा उल्टै आफूविरुद्ध राज्यले अनेक लाञ्छना लगाएर मुद्दा दायर गरे पनि अदालतले न्याय दिएको बताएका छन् ।
प्राविधिक कार्यालय मलङ्गवामा आर्थिक अनियमितता गरी रातभर काम भएको विषयमा गत असार १९ गते राति सर्लाहीका प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्का र यादवबीच ‘तँ तँ र म म’ सहित गालिगलौचको टेलिफोन संवाद बाहिरिएको थियो । लगतै राति प्रहरीले यादवको कविलासी नगरपालिका सलेमपुरस्थित घरमा छापा मार्दा जिल्ला प्रहरी कार्यालयको गाडीमा तोडफोड एवं केही सुरक्षाकर्मीसमेत घाइते भएका थिए ।
फरार रहेकै अवस्थामा यादवले ‘जय बिहार, जय भारत, जय मधेश’ भन्दै आफ्ना विचारहरु सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका थिए । उक्त घटनायता फरार भएका यादव जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते सदरमुकाम मलङ्गवाको प्रदर्शनमा सहभागि भएका थिए ।
जेन–जी आन्दोलनका नाममा यादव स्वयंले नेतृत्व गरेर अराजकता निम्त्याउने प्रयास गरेको आरोप लगाउँदै भदौ २५ गते उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यादवलाइ पक्राउ गरिएको विरोधमा जसपाका नेता कार्यकर्ताले सदरमुकाम मलङ्गवा, सलेमपुरलगायतका स्थानमा बजार बन्द गराउने, टायर बालेर प्रदर्शन गर्ने, चक्काजाम गर्नेजस्ता आन्दोलनका कार्यक्रम गरेका थिए ।