लालबन्दी, २३ असोज – सर्लाहीको लालबन्दीस्थित नगर अस्पताल डुमडुमेमा शल्यक्रिया (सीएस) मार्फत प्रसूति हुनेको संख्या ५०० नाघेपछि विशेषज्ञ चिकित्सकसहितको टिमलाई सम्मान गरिएको छ ।
नगरपालिका कार्यालयले ५०० महिलालाई सफलतापूर्वक शल्यक्रियाद्वारा प्रसूति गराउन सफल भएपछि प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. रामविश्वास राय दनुवारसहित प्रसूति वार्डका सम्पूर्ण स्वास्थ्यकर्मीलाई बुधबार अस्पतालमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । उनीहरुलाई प्रोत्साहनस्वरुप सम्मान–पत्रसहित सम्मान गरी केक काटेर खुसीयाली साटासाट गरिएको लालबन्दी नगरपालिका कार्यालयले जनाएको छ ।

डा. रायसहित उनको टिमलाई लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरी, जनप्रतिनिधि, अस्पतालका पदाधिकारीलगायत भएर सम्मान गरेका हुन् । कार्यक्रमका वक्ताहरुले स्थानीय स्तरमै उत्कृष्ट प्रसूति सेवा दिँदै शल्यक्रियामार्फत ५०० महिलालाई प्रसूति गराएको प्रति खुसी व्यक्त गर्दै आगामी दिनमा यो सेवालाई थप गुणस्तरीय हिसाबले अघि बढाउनुपर्नेमा जोड दिए ।
नगर अस्पतालमा २०८० फागुन २१ गतेदेखि प्रसूतितर्फ शल्यक्रिया सेवा सुरु भएको थियो । लालबन्दी नगरपालिका मातहतको यस अस्पतालमा दुई वर्षको अवधीमा शल्यक्रियातर्फको ५०० सहित दुई हजार महिलाले प्रसूति सेवा लिइसकेका अस्पतालले जनाएको छ ।

अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. रामविश्वास राय दनुवारले आफ्नै गृह जिल्लामा सीमित स्रोत साधनका बाबजुत यसरी सेवा प्रवाह गर्न पाउँदा अत्यन्त खुसी लागिरहेको उज्यालो अभियानसँग बताए । अस्पतालमा आइसियू, एनआइसियू र बालरोग विशेषज्ञको व्यवस्था हुने हो भने प्रसूति सेवा अझ प्रभावकारी र विश्वसनीय बन्ने स्वास्थ्यकर्मीले बताएका छन् ।
नगर अस्पतालमा शल्यक्रियामार्फत निःशुल्क प्रसूति सेवा प्रदान भइरहँदा यस क्षेत्रका गरिब तथा विपन्न परिवारलाई प्रसूतिका लागि ठुलो राहत मिल्दै आएको छ । अस्पतालमा विशेषज्ञ चिकित्सक राखेर सीएस सेवा र पर्याप्त मेडिकल अफिसरमार्फत ओपिडी तथा इमरजेन्सी सेवा प्रवाह भइरहँदा पछिल्लो समय सेवाग्राहीको चाप अत्यधिक बढिरहेको छ ।

अस्पतालमा यहाँका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, संचारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिहरुले समेत प्रसूतिसहित अन्य सेवा लिन आउन थालेपछि आम मानिसको विश्वास बढ्दै गएको कार्यरत स्वास्थ्यकर्मीले बताएका छन् ।